ग्रीष्मकालिन ओलम्पिकमा ६ दशकदेखि सहभागिता जनाउँदै नेपाल
श्रावण १३, २०८१ | काठमाडौं
नेपालले ६ दशकदेखि ओलम्पिक खेलेपनि अहिलेसम्म उपाधिको खडेरी तोड्न सकेको छैन । अर्थात्, ओलम्पिकमा नेपाली खेलाडीका लागि पदक जित्नु मृगतृष्णा जस्तै भएको छ ।
सन् १८९६ मा पहिलो गृष्मकालीन ओलम्पिक सुरु भएपनि नेपालले सन् १९६४ को टोकियो ओलम्पिकमा डेब्यु सहभागीता जनाएको थियो । त्यतिवेला म्याराथनका भूपेन्द्र सिलवाल र गंगाबहादुर थापा, बक्सिङका नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापाले नेपालको प्रतिनिधित्व गरेका थिए ।
टोकियो ओलम्पिकमा पहिलो सहभागिता भएपनि सन् १९५२ मा हेलसिन्कीमा आयोजित १५ औं ओलम्पिकमा नेपालले पर्यवेक्षकको रुपमा भाग लिएको थियो । सन् १९६८ मा मेक्सिकोमा भएको १९ औं संस्करणको ओलम्पिकमा नेपालले भाग लिएन ।
त्यसपछि सन् १९७२ मा त्यतिबेलाको पश्चिम जर्मनीको म्युनिखमा नेपालका दुई धावक जितवहादुर केसी र भक्तबहादुर सापकोटाले भाग लिएका थिए । सन् १९७६ मा क्यानाडाको मन्ट्रियलमा भएको २१ औं ओलम्पिकमा नेपालका एक मात्र धावक बैकुण्ठ मानन्धर सहभागी भए । बैकुण्ठले २ घन्टा ३० दशमलव ०७ मिनेटमा दौड पुरा गर्दै पचासौं स्थान हात पारेका थिए ।
ओलम्पिकमा बढी पटक सहभागिता जनाएका खेलाडी हुन् मानन्धर । उनले सन् १९७६ को मोन्ट्रल ओलम्पिकदेखि सन् १९८८ सोल ओलम्पिकसम्म लगातार चारपटक प्रतिस्पर्धा गरे । ओलम्पिक खेल्दाको अनुभवबारे ओलम्पियन मानन्धरले भने “ पहिलो पटक अमेरिका गएको थिए । खासै केही कुरा थाहा नहुँदा अतिकति समस्या भयो ।
ओलम्पिकमा पहिलो पटक सहभागी हुँदा ३ महिना अगावै अमेरिका गएको थिए । ओलमिपकका नेपालले पदक जित्नको लागि कमसेकम २० वर्षको प्लान बनाउनु पर्छ । मैले २० वर्ष अघि पनि यहि कुरा भनेको थिए, आज पनि यहि दोहोर्याउँदै छु । तयारी र योजना विनाको प्रर्दशनले पदकको आशा गर्नु बेकार हो ।
नेपालले राम्रो तयारी गरे पदक जित्न सक्छ । मैले राखेको रेकर्ड नै अहिलेसम्म कसैले तोध्न सकेको छैन । किन गर्न सकेनन् त ? सोच्नु पर्ने बेला आएको छ । खेलाडीलाई अलि अलि डाइट दिएर दुई÷चार महिनाको तयारी गरेर कहाँ हुन्छ ।”
हरेक चार वर्षमा आयोजना हुने ओलम्पिकको १५ वटा संस्करणमा खेलेपनि नेपाली खेलाडीका लागि पदक जित्नु मृगतृष्णा जस्तै हुने गरेको छ ।
नेपालले अहिलेसम्म आधिकारिक पदक जित्न सकेको छैन । सन् १९८८ मा सोल ओलम्पिकमा विधान लामाले तेक्वान्दोको प्रदर्शनी खेलमा कास्य पदक जितेका थिए । तर प्रदर्शनी खेलको पदकलाई आधिकारिक पदक नमानिंदा नेपालको त्यो उपलव्धि आत्मसन्तुष्टी बाहेक केही बन्न सकेन । सोही ओलम्पिकमा नेपालले पहिलो पटक महिला खेलाडीलाई समेत सहभागी गराएको थियो । जसमा म्याराथनबाट राजकुमारी पाण्डे र मेनका रावतले ओलम्पिक खेलिन् ।
समयक्रममा ओलम्पिकमा धावक हरिबहादुर रोकाया, पौडीवाज प्रसिद्धजंग शाह र गौरिका सिंहले दुई÷दुई पटक ओलम्पिकमा सहभागीता जनाएका छन् । हरिबहादुरले सन् १९८८ को सोल ओलम्पिक र सन् १९९२ को बार्सिलोना ओलम्पिक, प्रसिद्धले सन् २००८ को बेइजिङ ओलम्पिक र सन् २०१२ को लण्डन ओलम्पिक र गौरिकाले सन् २०१६ को रियो ओलम्पिक र सन् २०२० को टोकियो ओलम्पिकमा सहभागीता जनाएका थिए ।
पौडीवाज एलेक्जेन्डर शाह पनि लगातार दुई ओलम्पिक खेल्ने पौडीवाजमा नाम लेखाउँदै छन् । टोकियो ओलम्पिक खेलेका उनले पेरिस ओलम्पिकमा एक सय मिटर फ्रि–स्टाइलमा स्पर्धा गर्दैछन् । नेपालले सन् १९८० को मस्को ओलम्पिकमा एथलेटिक्स, बक्सिङ, भारोत्तोलनमा गरि १२, सन् १९८४ को लसएञ्जल्स ओलम्पिकमा एथलेटिक्स, बक्सिङ र भारोत्तोलनमा गरि १०, सन् १९९२ को बार्सिलोना ओलम्पिकमा म्याराथन, सुटिङ र तेक्वान्दोमा गरि ५, सन् १९९६ को एटलान्टा ओलम्पिकमा भारोत्तोलन, पौडी, एथलेटिक्स र सुटिङमा गरि ६, सन् २००० को सिड्नी ओलम्पिकमा एथलेटिक्स, पौडी र सुटिङमा गरि ५ खेलाडीले ओलम्पिक खेलेका थिए । सन् २००४ को एथेन्स ओलम्पिकको चर्चा नेपालमा बढी भयो । कारण थियो, सो संस्करणमा नेपालबाट पहिलो पटक छनोट चरण पार गर्दै तेक्वान्दोकी संगीना वैद्यले ओलम्पिक खेल्नु ।
नेपाली दर्शकले टेलिभिजनमा समेत संगीनाको खेल हेर्न पाएका थिए । ओलम्पिक अनुभव साँट्दै उनीले भनिन् “ ओलम्पिक भनेको हर खेलाडीको सपाना हो । त्यहाँ एकदम कडा प्रतिस्पर्धा हुन्छ । ओलम्पिमा छनोट भएर सहभागी हुन पाँउदा एकदम खुशी थिए । देशको लागि खेल्न पाउँदा निकै उत्साहित पनि थिए । आफूले सक्दो कोशिश गरे । म सातौं स्थानमा आए । तयारी अझै बढी गर्न पाएको भए पदक पनि जितिन्थ्यो होला । मैले ओलम्पिक खेल्दा जस्तो थियो, अहिले पनि त्यहि नै छ नेपालको तयारीको अवस्था ।
यो ओलम्पिक सकिने बित्तिकै अर्को ओलम्पिकको लागि खेलाडीलाई सुविधा दिएर तयारी थाल्ने हो भने नेपालले पदक जित्ने सम्भावना छ । पेरिस ओलम्पिक खेल्न गएका खेलाडीलाई राम्रो गर्नु भन्न चाहन्छु । ”
एथेन्स ओलम्पिकमा नेपालले तेक्वान्दोसहित पौडी, एथलेटिक्स र सुटिङमा गरि ६ खेलाडी पठाए । यस्तै, सन् २००८ को बेइजिङ ओलम्पिक पनि नेपालका लागि औपचारिकतामै सीमित हुन पुग्यो । छनोट चरण पार गर्दै ओलम्पिक खेलेका दोस्रो नेपाली खेलाडीको रुपमा तेक्वान्दोका दीपक विष्ट बेइजिङ ओलम्पिक पुगेका थिए ।
नेपाली खेलाडीले ओलम्पिक खेल्नुको अर्थबारे विष्ट भन्छन् “ खेलकुदको महाकुम्भमा विश्वका चर्चित खेलाडीहरु सहभागी हुने गर्छन् । त्यहाँ सहभागी हुन पाउँदा खेलाडीहरुले धेरै सिक्ने अवसर पाउँछन् । ओलम्पिकमा खेलिसकेपछि खेलाडीले इन्टरनेस्नल ऐरिनामा आफ्नो नाम दर्ज गरेको हुन्छ । ओलम्पिक सहभागीताले विश्वका कल्चरसँग घुलमिल हुन पाइन्छ । हाइली क्वालिफायर खेलाडीसँग खेल्दा खेरी धेरै अनुभव बटुल्ने मौका खेलाडीले पाउँछन् । ”
बेइजिङ ओलम्पिकमा तेक्वान्दोबाहेक एथलेटिक्स, पौडी, जुडो र सुटिङमा गरि ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपटकको पेरिस ओलम्पिक खेल्न लागेका टेबलटेनिसका स्यान्टु श्रेष्ठले छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बन्नेछन् ।
यसरी हेर्दा एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो, जुडो, सुटिङका खेलाडीले नेपालबाट ओलम्पिक खेल्न मौका पाएका छन् । खेलकुदको स्तर, खेलाडीको क्षमता र शक्तिशाली प्रतिद्धन्द्धीको चुनौतीले गर्दा ओलम्पिकमा नेपालको सहभागिता औपचारिकमा सीमित भएको छ भन्दा हुन्छ ।