चर्चामा बामदेव गौतमः एमाले प्रवेश कहिले ?
माघ १२, २०८१ | काठमाडौं
वामपन्थी नेता वामदेव गौतम पूर्व पार्टी एमालेमा फर्किने बिषय अहिले राजनीतिको एउटा मसला बनेको छ । २०७८ सालमा नेकपासँगै एमाले विभाजित भएपछि अलग बसेका नेता गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्ने निर्णय एमालेले औपचारिक रुपमा गरिसकेको छ । एमालेमा गौतमको सम्भावित प्रवेशलाई लिएर विभिन्न खालका टिका–टिप्पणी भएका छन् । अस्थिर राजनीतिक पात्र भन्दै आलोचित गौतमसँग सहकार्य गर्ने एमालेको निर्णय कार्यन्वयन कसरी हुन्छ भन्ने चासो देखिएको छ । एमाले फर्किएपछि गौतमले पाउने हैसियत र त्यसबाट सो पार्टीको आन्तरिक जीवनलाई प्रभाव पार्ने निश्चित छ । आखिर को हुन् वामदेव गौतम र अहिले उनको चर्चा किन भइरहेको हो ?
नेपाली राजनीतिका एक परिचित मात्र हुन्–वामदेव गौतम । उमेरले ७५ बसन्त पार गरिसकेका नेता गौतम अघिल्लो सातासम्म एकीकृत समाजवादीसँग एकताका लागि सम्वादमा थिए । एकाएक उनै नेता गौतमले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भेटघाट गरेपछि भने पूर्व पार्टीमा फर्किने सुर कसेका हुन् । एमालेको सचिवालय बैठकले गौतम नेतृत्वको अभियानसँग सहकार्य गर्ने निर्णय गरेपछि उनले केही नेतालाई सम्वादका लागि खटाइसकेका छन् । तीमध्येका एक नेता एवम् अभियानका महासचिव डीबी कार्कीले एमालेसँगको सहकार्य छिट्टै नै हुने दाबी गरे । ‘सहकार्य भनेको के हो ? कुन–कुन विषयमा गर्ने हो ? पार्टीको अस्तित्व रहन्जुलेसम्म सहकार्य गर्ने भनेको राजनीतिक रुपमा फरक विचार राख्न पाइने हो की होइन भनेर एमालेसंग छलफल भएको छ,’ कार्कीले भने, ‘छिटोभन्दा छिटो एकता सहकार्य टुुंग्याउदा ठिक हुन्छ भनेर हामीले आग्रह गरेका छौ । उहाँहरुले पनि तयारी पुरा भएपछि खबर आउँछ भनेर भन्नुभएको हो ।’
एकीकृत समाजवादीसँंग एकताका लागि गरिएका वार्तामा गौतमले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको संवैधानिक प्रवन्ध गर्नुपर्ने लगायत एजेन्डा अघि सारेको बताइन्छ । एकीकृत समाजवादीले आफ्नो एजेन्डा अस्वीकार गरेको भन्दै गौतमले एमालेमा जाने बाटो रोजेका हुन् । तर एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्तीदेवि राईले गौतमसँग सहकार्यका लागि प्रयास अझै जारी रहेको बताइन् । ‘हामी सबैको चाहाना छ उहाँहरुसंग एकता सहकार्य गर्ने भनेर । उहाँहरुले अघि सारेका नेताहरुको व्यवस्थापनलगायतका सर्तहरुमा मान्ने नै भनेको हो । गौतमलाई वरिष्ठ उपाध्यक्ष दिने तयारी पनि छ,’ उनले भनिन् ,‘ तर उहाँहरु अन्य पार्टीहरुसंग गरिरहेको बार्गेनिङका विषयमा कुरा बुझ्न सकिएन ।’
बामपन्थी राजनीतिका अनुुभवी र पुराना नेता गौतम कुनै समय कुुशल संगठकका रुपमा परिचित थिए । तर गौतमको ढुुलमुले नीतिले उनको आलोचना वामपन्थी वृत्त र बाहिरबाटै पनि हुने गरेको छ । उनले २०५४ मा एमाले विभाजन गरेका थिए । २०५६ को निर्वाचनमा आफ्नो पार्टी माले सीट विहिन बनेपछि त्यसको दुई बर्ष नपुग्दै उनी एमाले फर्किए । एमाले फर्किएपछि पार्टीमा आफ्नो छुट्टै गुट बनाएका गौतम आठौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थिए । त्यसवेलाका अध्यक्ष झलनाथ खनालको पक्षमा खरो उत्रिएका गौतमले नवौं महाधिवेशन र त्यसअघि संसदीय दलको चुनावमा ओलीलाई साथ दिए । ओली र गौतमको सहकार्य एमालेको राजनीतिमा निकै अर्थपूर्ण बनेको थियो । ओलीसँगको सहकार्य अघि बढ्दै जाँदा गौतमले २०७४ सालमा माओवादी केन्द्रसँग एकताका लागि पहल गरेका थिए । तर एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको आन्तरिक विवादमा गौतम ओलीको विपक्षमा खडा हुँदै पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालको पक्षमा उभिए ।
गौतमलाई आफ्नो पक्षमा ल्याउन ओलीले २०७४ को आमनिर्वाचनमा पराजित भएपनि उनलाई राष्ट्रिय सभाको सदस्य बनाएका थिए । यही पृष्ठभूमिमा गौतम एमालेमा फर्किने तयारीले सो पार्टीभित्र एक खालको तरंग ल्याएको छ । एकातर्फ पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किने चर्चा छ भने अर्कोतर्फ एमाले अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टीका स्वर बाँक्लिदैछन् । यही कारण गौतमलाई भित्र्याउने एमाले नेतृत्वको तयारीले पार्टीको आन्तरिक जीवनलाई केही हदसम्म प्रभाव पार्ने निश्चित छ । गौतम नेतृत्वको अभियानले पटक–पटक एमालेमा आउन चाहेको भन्दै गरेको आग्रहमा एमालेले सहकार्यको ढोका खोलेको एमाले नेता विष्णु रिजाल बताउँछन् । ‘अहिले पार्टीले भित्र्याइसकेको छैन, उहाँले इच्छा व्यक्त गर्नुभयो, उहाँको इच्छामा पार्टीले छलफल गरेको छ, उहाँसंग सहकार्य गर्दै जाने भनेर पार्टी केन्द्रीय सचिवालयको निर्णय छ,’उनले भने, ‘जहाँसम्म आरोप–प्रत्यारोपको विषय छ, राजनीतिमा कतिपय विषय तत्कालका हुन्छन् भने कतिपय क्षणिक हुन्छन् र कतिपय आवेगमा भनिएका हुन्छन् । समयक्रममा ती पुष्टि नहुने अवस्था बन्छ । अहिले उहाँको अवस्था सायद त्यस्तै भएको हुनुपर्छ । विगतमा एकअर्कोविरुद्ध लगाएका आरोपहरु ती स्थापित भएनन् र कसको अवस्था के छ भनेर उहाँले देख्नुभयो होला । यो तीन वर्षकाबीच आएका उथलपुथलहरुले स्वयमं उहाँको मनस्थितिमा समेत परिवर्तन आएको होला, त्यसैले पनि एमलेमा प्रवेश गर्न इच्छुक देखिनुभएको हुनुपर्छ ।’
एमालेको संगठन विस्तारमा प्रभाव राखेका र हक्की स्वभावका नेता गौतम अहिलेसम्म आमनिर्वाचन ३ पटक जितेका छन् । तीन पटक पराजित भएका छन् । २०४८ र २०५१ म बर्दिया तथा २०७० मा प्युुठानबाट विजयी भएपनि गौतम २०५६, २०६४ र २०७४ मा भने बर्दियामा पराजित भएका थिए । २०५३, २०६५ र २०७० मा गरी तीन पटक उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका गौतम एमालेमा फर्किने तयारी भइरहँदा सर्वाजनिक रुपमा उनको आलोचना भइरहेको छ । नयाँ पुस्तालाई मौका दिनुपर्नेमा पाका नेतालाई बढी महत्व दिएको र गौतमको प्रवेशले राजनीतिलाई खासै फरक नपर्ने कतिपय विश्लेषकको भनाइ छ । ‘समय अन्तै गइरहेको छ । आज राजनीतिक दलहरुले सोच्नुपर्ने, गर्नुपर्ने, पार्टीभित्र ल्याउनुपर्ने मान्छेहरु अरु नै छन् । एउटा नयाँ सपना देख्ने पुस्ताको राजनीति अगाडी बढाउनुपर्ने समय आएको छ,’ विश्लेषक केशव दाहालले भने, ‘तर पार्टीभित्र विगतमा हारेका, थाकेका प्रयोगविहीन मान्छेहरुको जमात बटुल्ने काममा पार्टीहरु लागेका छन्, त्यसैले यो त्यति धेरै चर्चा गर्नुपर्ने, महत्व खोज्नुपर्ने विषय मलाई लाग्दैन ।’
एमाले अध्यक्ष ओली आफ्ना कट्टर आलोचक गौतमलाई पार्टीमा फिर्ता ल्याउन किन र कसरी तयार भए ? भन्ने बिषयलाई एमाले पंक्तिमा महत्वका साथ हेरिएको पाइन्छ । गौतम एमालेमा फर्किदा उनले पाउने हैसियतले पदाधिकारी तहका अन्य थुप्रै नेतालाई अप्ठ्यारो पार्न सक्ने देखिन्छ । त्यही भएर हुन सक्छ, केही पदाधिकारीले सचिवालय बैठकमा गौतमलाई फिर्ता ल्याउन हतार नगर्न अध्यक्ष ओलीलाई आग्रह गरेका हुन् । त्यसपछि सचिवालय बैठकले गौतमको अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको हो । सो निर्णयपछि यतिवेला वामदेव गौतमलाई भित्र्याएर ओलीले पार्टीमा कस्तो खालको सन्देश दिन खोजेका हुन् भन्ने आशंका पनि गरिदैछ । किनभने सार्वजनिक रुपमा आलोचना भएपनि एमालेमा फर्किदा गौतमले पुराना समर्थक नेताहरुको साथ लिएर पार्टीभित्र आफ्नो स्पेश खडा गर्दै अध्यक्ष ओलीसँगको सहकार्यबाट फाइदा समेत उठाउन सक्छन् ।