राजनीतिप्रति सबै क्षेत्रका व्यक्तित्वको लगाव : कलाकारदेखि वैज्ञानिकसम्म

रेडियो कान्तिपुर संवाददाता

माघ १५, २०८२

सुनिता लोहनी 

काठमाडौँ । आगामी फागुन २१ मा हुने निर्वाचन यसपालि भिन्न उम्मेदवारीका कारण चर्चामा छ । यो निर्वाचनमा लामो समयदेखि राजनीति गर्दै राजनीतिक दलका नेता र तिनका कार्यकर्ताले मात्र उम्मेदवारी दिएका छैनन् । फरक पृष्ठभूमि र पृथक पेशामा रमाएका व्यक्ति पनि सांसद बन्ने होडमा उत्रिएका छन् । यसले चुनावको परिदृश्य नै बदलिदिएको छ । पत्रकार, विश्लेषक, कलाकार, खेलाडी, व्यापारी, वैज्ञानिक, इन्फ्ल्युएन्सर, सामाजिक अभियन्तालगायत विभिन्न पेशाकर्मी निर्वाचनको महाकुम्भमा होमिएका छन् ।

भदौको अन्तिम साता भ्रष्टाचार र कुशासनविरुद्ध भएको जेनजी व्रिदोहमा ७७ नागरिकको मृत्युपछि कांग्रेस एमालेको दुई तिहाईको गठबन्धन सरकार ढल्यो । त्यसपछि बनेको नागरिक सरकारले घोषणा गरेको निर्वाचनमा भिन्न उम्मेदवारलाई आकर्षण गरेको छ । भिन्न पृष्ठभूमिका उम्मेदवार उठाउने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिन्छ । २०७९ को निर्वाचनमा उदाएको रास्वपाले कलाकार, इन्फ्ल्युएन्सर, सामाजिक अभियन्ता, पत्रकार तथा व्यापारी÷व्यवसायी गरी विभिन्न क्षेत्रलाई समेटेकोे छ । रास्पवाबाट पत्रकारहरुमा राजीव खत्रीले भक्तपुर २ र जगदीश खरेलले ललितपुर २ बाट उम्मेदवारी दिएका छन् । यस्तै, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रौतहट ४ बाट आम जनता पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् । रौतहटमा घरदैलो कार्यक्रम गर्दा उखु बोक्ने, जेरी पकाउने र काठ काट्ने जस्ता उनका गतिविधि भाइरल छन् । यस्तै, सञ्चारकर्मी दिवाकर साह धनुषा ३ बाट चुनावमा लड्दैछन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पत्रकार जन्मदेव जैसीले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् । एमालेबाट महेश बस्नेत उठेका सो क्षेत्रमा जैसीसहित ४ जना पत्रकारहरु छन् । जसमा कांग्रेसबाट पत्रकारिता पृष्ठभूमिका कविर राणा, नेपाली कम्प्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, रास्पवाबाट राजीव खत्री छन् । पत्रकारिता पेशालाई आत्मनिर्भर बनाउन उम्मेदवारी दिएको जैसीको भनाइ छ ।

बुद्ध एअरका मालिक वीरेन्द्र बस्नेतले गतिशील लोकतन्त्र पार्टी स्थापना गरेका छन् । तर उनी आफैँ भने चुनावमा प्रतिस्पर्धा गरेका छैनन् । अर्बपति विनोद चौधरी कांग्रेसबाट नवलपरासी १ बाट उम्मेदवारी दिएका छन् । मुक्तिनाथ विकास बैँक र मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्ष भरतराज ढकालले स्याङ्जा १ बाट प्रतिस्पर्धामा छन् । चर्चित बाजेको सेकुवा रेष्टुरेन्टका संचालकको परिवारकी सदस्य नितिमा भण्डारी (कार्की) रास्वपाबाट सर्लाही १ बाट उम्मेदवारी दिएकी छन् । व्यवसायी अनिल रुंगटाले पर्सा १ मा कंग्रेसबाट, लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडियाले एमालेबाट कपिलवस्तु ३ मा मैदानमा उत्रिदैछन् । पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी खोलेर चुनावमा होमिएका छन् । इन्फ्ल्युएन्सर एवम् अभियन्ता आशिका तामाङले रास्वपाबाट धादिङ १बाट उम्मेदवारी दिएकी छन् । कलाकारहरु रिमा विश्वकर्मा, प्रकाश सपुत तथा पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्ल रास्वपाबाट समानुपातिकको उम्मेदवार बनेका छन् ।

त्यस्तै, क्रिकेटर कमेन्टर सचिन तिमल्सिनाले कांग्रेसबाट काठमाडौँ ४ बाट प्रतिस्पर्धा गर्दैछन्् । उज्यालो नेपाल पार्टीबाट युवा वैज्ञानिक मनिषा द्वाले कास्की १ बाट उम्मेदवारी दिएकी छन् । सो क्षेत्रमा ११ जनाको उम्मेदवारी परेकोमा मनिषा युवा मात्र नभई सबैभन्दा कम उमेरकी र एक मात्र महिला उम्मेदवार समेत रहेकी छन् । विज्ञान र नवप्रवर्तनमा काम गरिरहेकी द्वा राजनीतिमा लाग्नुको कारण सो क्षेत्रको विकासको लागि नीति निर्माण बनाउन उठेको बताउँछिन् ।

चुनावमा भाग लिनु लोकतान्त्रिक अभ्यास हो । तर अहिले निर्वाचनमा जसरी सबै तप्काका क्रियाशील व्यक्तित्वहरु चुनावमा होमिएका छन् । यसले चुनावमा चर्चाका साथै यसको नतिजामा अप्रत्याशित बनाउन सक्ने देखिदैछ । खासगरी, फरक पृष्ठभूमिका व्यक्ति चुनावमा उठ्नुलाई कतिपयले राजनीतिमा लाग्नु भनेको पार्टी राजनीति र सत्तामा मात्र सहभागी हुनु भन्ने बुझेको आलोचकहरु बताउँछन् । राजनीतिमा लाग्नु ग्ल्यामर मात्र नभएको विश्लेषक इन्द्र अधिकारीको भनाइ छ ।

त्यसो त पछिल्लो समय अपराधिक पृष्ठभूमिका केही व्यक्ति समेत चुनावी प्रतिस्पर्धामा छन् । राजनीतिक दलमा रहदा राज्यबाट संरक्षण पाइने आशमा राजनीतिमा लाग्ने क्रम बढेको देखिन्छ । चक्रे मिलनको नामले परिचित मिलन गुरुङ गोरखा २ मा एमालेको चिन्ह लिएर सांसद बन्ने दौडमा छन् । यस्तोमा राजनीति गर्नु भनेको राष्ट्रको समग्र प्रणालीको परिवर्तनको लागि, समाजको र जनताको सेवा गर्नु भन्ने परिभाषा भन्दा पृथक बन्दै गएको देखिन्छ । 


प्रतिक्रिया