नेपाल-कोरियामैत्री नगरपालिका अस्पताललाई पीसीआर परीक्षणको अनुमति

मध्यपुर थिमि नगरद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर 

असार ८, २०७७ | भक्तपुर

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई कोरोना भाइरस परीक्षणका लागि पोलिमराइज चेन रिएक्सन (पीसीआर) ल्याब सञ्चालनको लागि स्वीकृति दिएको छ । 

अस्पतालले ल्याब सञ्चालन अनुमति प्रक्रियाकै क्रममा ८ सय १२ जनाको पीसीआर परीक्षण गरिसकेको छ । ल्याब सञ्चालन अनुमति नपाउँदा पीसीआर परीक्षण अन्योल भईरहेको थियो । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले हस्ताक्षर गरी पीसीआर सञ्चालनको अनुमति प्रदान गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

मध्यपुर थिमि नगरले दातृ संस्थासँगको समन्वयमा पीसीआर मेसिन जडान गरी आफ्नै खर्चमा कोभिड–१९ परीक्षणको सुविधा उपलब्ध गराएको उहाँले बताउनुभयो । अस्पतालले तीन महिना अघिदेखि ल्याब स्वीकृतिको माग गर्दै पटक–पटक अनुगमन गरिदिन आवेदन दिँदै आएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने ल्याबको व्यवस्थापकीय सुधारको पाटोलाई लिएर स्वीकृति दिन आलटाल गरेको थियो । प्रयोगशालाकी निर्देशक डा. रुना झा, डा. रितु अमात्य, डा. पियुश राजभण्डारी, डा. मुकुन्दा शर्मा, लिलि श्रेष्ठ ढुङ्गेल लगायतको टोलीले अनुगमन गरी मापदण्ड अनुसारको पूर्वाधारको व्यवस्था गरेपछि स्वीकृति पाएको र बुधबारबाट सुरु गरिने जनाएको छ ।

त्यसैगरी, अस्पतालले कोरोनाको उपचारका लागि चारवटा भेन्टिलेटर सहितको ६ वटा आइसीयू र २० शैय्याको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । अस्पतालमा २६ जना डाक्टर र पाँच कन्सल्टेन्ट सहितको स्वास्थ्यकर्मीहरूको टोली २४ घन्टा अलर्ट राखिएको जनाएको छ । 

अस्पतालका अनुसार मेसिनले एकै पटकमा ९६ जनासम्मको परीक्षण गर्न सकिन्छ । समूहमा परीक्षण गर्दा प्रतिव्यक्ति सरदर सात देखि नौ हजार रुपैयाँसम्म खर्च हुन्छ । नगरपालिकाले त्यो खर्चको व्यवस्थापन गरेर नि:शुल्क सुविधा दिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

दक्षिण कोरियाको क्योंही इन्टरनेसनल मेडिकल को–अपरेसन मार्फत सन् १९९९ मा स्थापना भएको ‘कोरिया नेपाल मैत्री स्वास्थ्य केन्द्र’ मध्यपुर थिमि नगरपालिकामा हस्तान्तरण भएपछि ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ का रूपमा सञ्चालित छ ।

नगरपालिकाले कोभिड–१९ संक्रमित बिरामीलाई सुरक्षित तवरले अस्पताल ल्याउन अस्पतालको एम्बुलेन्सलाई विशेष रुपमा ‘मोडिफाई’ गरी तयार गरेको छ । सो एम्बुलेन्स चलाउने चालकलाई आवश्यक स्वास्थ्य अभिमूखिकरण गराएर स्वास्थ्य सुरक्षा सामग्री पीपीई, मास्क, पञ्जा, डिस्इन्फेक्सन किट उपलब्ध गराएको जनाएको छ ।


प्रतिक्रिया