वीपी प्रतिष्ठानका प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित

विभिन्न माग राखेर आन्दोलित बनेका वीपी प्रतिष्ठानका इन्टर्न डाक्टर । तस्बिर: रेडियो कान्तिपुर । 

मंसिर १४, २०७७ | सुनसरी

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकहरु आइतबारदेखि आन्दोलित भएका छन् । प्रशिक्षार्थी चिकित्सकहरुले प्रतिष्ठानको इर्मजेन्सी बाहेक अन्य सबै विभागमा नियमित काम छोडेर आन्दोलनमा उत्रिएका छन् । 

उनीहरु धर्नामा बसेपछि प्रतिष्ठानको बहिरंग (ओपीडी) सेवा, वार्डहरुमा नियमित सेवा प्रभावित भएको छ । उनीहरुले विभिन्न नारा र माग लेखिएको प्लेकार्ड बोकेर उपकुपति प्रा.डा. ज्ञानेन्द्र कार्कीको कार्यकक्ष परिसरमा धर्ना दिईरहेका छन् । प्रतिष्ठानमा २ सय जना प्रशिक्षार्थी चिकित्सकहरु रहेका छन् । 

इन्टर्न संघर्ष समितिका संयोजक अमृत जैसीले प्रतिष्ठानमा कार्यरत इन्र्टन डाक्टरको जीवन निर्वाह भत्ता २०७६ जेठ २९ गते प्रतिष्ठानका पदाधिकारी र इन्टर्न चिकित्सकबीच भएको सहमति अनुसार सरकारको ८ औं तहको सरह ५० प्रतिशत कार्यान्वयन हुनुपर्ने माग गर्दै आन्दोलित हुनुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले प्रतिष्ठानको पदाधिकारीलाई पटकपटक ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउँदै आएपनि बेवास्ता गरियो । उपकुलपतिसँग भेटेर आफ्ना कुरा राख्न समेत नदिएपछि काम छाडेर धर्ना बस्न बाध्य भएका हौं ।’ 

संघर्ष समितिले रात्रीकालिन ड्यूटीमा खट्ने इन्टर्नलाई खाजाका निम्ति जीवन निर्वाह भत्तामै थप एक हजार रुपैयाँ प्रदान गर्नुपर्ने, जीवन निर्वाह भत्तामै समावेश गर्ने गरी मास्क, स्यानिटाइजर, फेस सिल्ड लगायत सामग्रीहरूको निम्ति न्यूनतम थप एक हजार रुपैयाँ व्यवस्था गरिनुपर्ने लगायतको माग राखेका छन् । 

कोरोना संक्रमणको कारण आइसोलेसनमा बसेका इन्टर्नहरूले अन्य साथीहरू ड्यूटीमा भएको समयमा खान समेत नपाएका कारण अब उपरान्त आइसोलेसन अवधि भर खानाको व्यवस्था कोभिड अस्पतालमा भए बमोजिम नै प्रतिष्ठानले व्यहोर्नुपर्ने पनि माग गरेका छन् । 

संघर्ष समितिले उपकुलपतिलाई बुझाएको मागपत्रमा भनिएको छ, ‘प्रतिष्ठानले सम्पूर्ण विद्यार्थीहरूलाई बोलाउने तयारी गरिरहेकाले होस्टलमा संक्रमित विद्यार्थीहरूले एउटै शौचालय र बाथरुमको उपयोग गर्दा विद्यार्थीहरूमा संक्रमणको जोखिम झनै बढ्न सक्ने भएकाले आइसोलेसनका निम्ति एउटा छुट्टै स्थान व्यवस्था गर्नुपर्ने र ईन्टनसीप सुरु भएको २ महिना भईसक्दा समेत २ जना विद्यार्थीको ईन्टनसीप अझै सुरु नभएका कारण उपयुक्त व्यवस्था गरी यथाशीघ्र इन्टर्नसीप सुरु गर्न पहल गर्नुपर्ने माग गर्दछौं ।’

यसैगरी संघर्ष समितिले कोभिड–१९ संक्रमण भएपश्चात् आइसोलेसनमा बसेको समयको हाजिरी प्रदान गर्न प्रतिष्ठानले उपयुक्त व्यवस्था गरी इन्टर्नसीप तोकिएकै समयमा सकिनेमा सुनिश्चितता गर्नुपर्ने, कम्तीमा एक ठाउँमा ४५ दिनको पेरिफेरी पोस्टिङ हुने गरी व्यवस्था गर्नुपर्ने, इन्टर्नहरूले २ महिनाको काम पूरा गरिसकेका कारण विगत दुई महिनाको बढ्नुपर्ने तलब यही महिना भित्र उपलब्ध गराउनु पर्ने, प्रतिष्ठानले ड्यूटीमा खटाएका बेला कोरोना संक्रमित इन्टर्नहरूको पीसीआर परीक्षण नि:शुल्क गरिनुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया