गुणस्तर सुधारमा भक्तपुर अस्पताल अग्रस्थानमा

पुस १९, २०७७ | भक्तपुर

भक्तपुर अस्पताल यस वर्षको प्रदेश अस्पतालहरुमा उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । शुक्रबार अस्पतालमा आयोजित अस्पताल व्यवस्थापन सुदृढिकरण अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट भएको घोषणा गरिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने क्रममा आएको एक सरकारी मूल्यांकन टोलीले दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबै भन्दा धेरै अंक प्राप्त गरेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले बताउनुभयो ।

सो मूल्यांकन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्यांकनमा भक्तपुर अस्पतालले ८२ अंक प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ट स्वास्थ्य प्रशासक डा. अर्जुन सापकोटाले बताउनुभयो । 

गतवर्ष भक्तपुर अस्पतालले ३८ अंकमा चित्त बुझाउनु परेको थियो । अस्पतालका स्टाफ, सञ्चालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारका सहयोगका कारण एक वर्षमै भक्तपुर अस्पतालले आफूलाई सुधार गर्न सकेको र सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाएर लैजाने मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले प्रतिवद्धता जनाउनुभयो ।

अस्पताल सञ्चालनको १ सय १६ वर्षपछि भक्तपुर अस्पतालमा आइसीयू सेवा दिन सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीकै अवधिमा ६ वटा भेन्टिलेटर सहित आइसीयू सेवा सञ्चालन गर्न सुरु भएको अस्पताल प्रशासनले जनाएको छ । 

भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी समेत सुरु भएको छ । गत कात्तिकमा प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई सामाजिक विकास मन्त्रालयले पुरस्कृत समेत गरेको थियो ।


प्रतिक्रिया