१० महिनापछि धौलागिरि अस्पतालमा पीसीआर मेसिन जडान

वैशाख ९, २०७८ | बागलुङ

सरकारले निर्णय गरेको दश महिनापछि बागलुङको धौलागिरि अस्पतालमा पीसीआर मेसिन जडान भएको छ । सरकारले गत असार १२ गते गरेको निर्णयपछि धौलागिरि अस्पतालमा पीसीआर मेसिन जोड्ने तयारी थियो । बजेट निकासामा ढिलाईका कारण लामो समयदेखि रोकिएको काम अहिले सम्पन्न भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताउनुभयो । 

पीसीआर मेसिन खरिदका लागि संघीय सरकारले १ करोड र प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । मेसिन ल्याएर अस्पतालमा जडान भईसकेपनि स्वाब परीक्षण भने भएको छैन । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति कुरेर बसेका छौं, अनुमति पाउनासाथ काम थाल्ने छौं’ अस्पतालका मेडिकल ल्याबोरोटरी टेक्नोलोजिष्ट डा.नारायणप्रसाद कोइरालाले भन्नुभयो, ‘जनशक्ति व्यवस्थापन र छुट्टै ल्याब समेत निर्माण गरिएको छ ।’ 

अस्पतालको भूमिगत तलामा मेसिन जडान गरेर ल्याब सञ्चालनमा ल्याइएको हो । मेसिन जडानका लागि ५० लाख रुपैयाँ बढी खर्च भएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताउनुभयो । 

अस्पतालले एक जना विशेषज्ञ डाक्टर सहित ल्याबका लागि दुई समय छुट्टयाएर काम गर्ने व्यवस्थापन गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएपछि मात्रै स्वाब परीक्षण गर्न पाइने अस्पताल प्रशासनले जनाएको छ । जडान भएको मेसिनले एकपटकमा ७० जनाको स्वाब परीक्षण गर्न सक्ने डा.कोइरालाले जानकारी दिनुभयो । 

यसअघि बागलुङबाट संकलन गरिने स्वाब परीक्षणका लागि पोखरा पठाउने गरिएको थियो । पोखरा पठाउँदा पीसीआर रिपोर्ट आउन ३ दिन लाग्ने गरेको थियो । संक्रमणको चाप बढेको बेला ७ दिनसम्म लाग्ने गर्दा स्वाब दिएका व्यक्ति होम क्वारेन्टिाइनमा नबस्दा संक्रमण फैलिने जोखिम बढेको थियो । 

डा.कोइरालाका अनुसार यो मेसिन जडान भएपछि बढीमा २४ घण्टामा स्वाबको रिपोर्ट आउने छ । पछिल्लो समय बागलुङ कोरोना संक्रमणको उच्च जोखिमको क्षेत्रमा परेको छ । जिल्लाका विभिन्न विद्यालयमा पढ्ने बालबालिकामा संक्रमण उच्च देखिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम जिल्लामा बागलुङलाई सूचीकृत गरिसकेको छ । तर गत साताको मन्त्रिपरिषद बैठकले बागलुङलाई सूचीकृत नगरेपछि विद्यालय बन्द गर्ने तथा आन्तरिक लकडाउन लगायतको काम भएको छैन । मंगलबार एकै विद्यालयमा धेरै संक्रमित देखिएपछि जिल्लाको बलेवा क्षेत्रमा निशेधाज्ञा जारी गरिएको छ ।


प्रतिक्रिया