आइसोलेशन निर्माणमा जुट्दै भक्तपुरका स्थानीय तह

भक्तपुर अस्पतालमा सञ्चालित आइसोलेशन कक्ष । तस्बिर: लीला श्रेष्ठ/रेडियो कान्तिपुर 

वैशाख १६, २०७८ | भक्तपुर

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले समुदायमा महामारीको रुप लिएपछि भक्तपुरका स्थानीय तह आइसोलेशन व्यवस्थापनमा जुटेको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरपालिकाले नेपाल इञ्जिनियरिङ्ग कलेज दुवाकोटमा १ सय शय्याको आइसोलेशन केन्द्र व्यवस्थापन गरेको छ । 

नगरपालिकाले बिहीबार चाँगुनारायण अस्पताललाई ‘कोभिड अस्पताल’ को रुपमा सञ्चालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । हाल १७ शय्याको चाँगुनारायण अस्पताललाई ३० शय्यासम्म वृद्धि गर्ने र नगरपालिकाले कोभिड विशेष शव बाहन, एम्बुलेन्स सञ्चालनलाई निरन्तरता दिएको जनाएको छ । 

होम आइसोलेशनमा बस्न सक्ने वातावरण नभएका कोरोना संक्रमितका लागि आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख मिश्रले बताउनुभयो । जटिल प्रकृतिका संक्रमितलाई अस्पतालमा रिफर गर्ने व्यवस्था गरेको छ । 

कोभिड–१९ संक्रमण न्यूनिकरण प्रयासको क्रममा भक्तपुर नगरपालिकाले बिहीबारदेखि सामान्य संक्रमितहरुका लागि ५० शय्याको आइसोलेसन केन्द्र र जटिल बिरामीहरुको उपचारको लागि २५ शय्याको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा ल्याएको छ । 

त्यसैगरी, मध्यपुर थिमि नगरपालिकाले पीसीआर ल्याब सञ्चालनलाई निरन्तरता दिँदै ७ भेन्टिलेटर सहित ९ शय्याको आईसीयू, १४ शय्याको एचडीयू, अक्सिजन प्लान्ट, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शय्याको आइसोलेशन सञ्चालनलाई पुन: सुरु गरेको हो । 

यसअघि कोरोनाको पहिलो लहरको महामारीमा नगरपालिकाले सोही केन्द्रमा ५० शय्याको आइसोलेसन सञ्चालन गरेको थियो । कोरोनाको नयाँ भेरियन्ट पहिलेको तुलनामा कडा र बढी संक्रामक भएको र जटिल तथा गम्भीर प्रकृतिका बिरामीको संख्या बढेकाले एचडीयू सहितको आइसोलेसन शय्या बढाएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

भक्तपुर अस्पतालमा ६८ शय्याको आइसोलेसन

बढ्दो कोरोना भाइरस संक्रमण लक्षित गर्दै भक्तपुर अस्पतालले २५ शैयाको हाईकेयर युनिट सहित ६८ शय्याको आइसोलेशन कक्ष सञ्चालन गरेको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका अनुसार आइसोलेशन कक्षमा ६ शय्याको आईसीयू, २५ शय्याको हाईकेयर र ३७ शय्याको जनरल युनिट रहन्छ । हाल अस्पतालको आइसोलेसनमा ३० जना संक्रमित छन् । जसमध्ये ४ जना आईसीयू उपचाररत छन् । 

आवश्यकताका आधारमा अस्थायी संरचना निर्माण गरेर आइसोलेसन कक्षको संख्या बढाउन सकिने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.गौतमले बताउनुभयो । कोरोना कहरकै अवधिमा प्रदेश अस्पतालहरुमा उत्कृष्ट अस्पताल बन्न सफल भक्तपुर अस्पताल २ सय शय्या क्षमतामा बिस्तार गर्ने लक्ष्य छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.गौतमका अनुसार चालू आर्थिक वर्ष भित्र ७५ शय्याको अस्पताललाई २ सय शय्यामा बिस्तार गर्ने तयारी छ ।

‘श्री चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट १९६१ मा स्थापित १५ शय्याको अस्पताल २०६० देखि ७५ शय्यामा सञ्चालित छ । दिनप्रतिदिन बिरामीको चाप बढ्दै गएको भन्दै अस्पताल प्रशासनले २ सय शय्या क्षमता बिस्तारको तयारी थालेको जनाएको छ । अस्पताल सञ्चालनको १ सय १६ वर्षपछि भक्तपुर अस्पतालमा आइसीयू सेवा दिन सुरु भएको छ । कोभिड–१९ संक्रमण महामारीकै अवधिमा ६ वटा भेन्टिलेटर सहित आइसीयू सेवा सञ्चालन गर्न सुरु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले बताउनुभयो । 

भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी समेत सुरु भएको छ । बागमती प्रदेश सरकारद्वारा सञ्चालित भक्तपुर अस्पतालमा ७५ शय्याको एचडीयू, बालबालिकाका लागि ६ शय्याको एनआईसीयू सञ्चालन तथा ल्याप्रोस्कोपी, सिस्टेस्कोपी, हिस्टेस्कोपी, अर्थोस्कोपी, इण्डोस्कोपी लगायत सेवा बिस्तारको तयारी रहेको अस्पतालले जनाएको छ । 

नाक/कान/घाटी, मुटु रोगको ओपीडी सेवा सञ्चालन, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई परिमार्जन सहित सञ्चालनमा ल्याउने डा.गौतमले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बिहीबारसम्म जिल्लामा १ हजार १ सय ११ संक्रिय संक्रमित छन् । जसमध्ये, ५८ जना अस्पतालमा र १ हजार ५३ संक्रमित होम आइसोलेशनमा रहेका छन् ।


प्रतिक्रिया