भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल बन्ने

जेष्ठ १५, २०७८ | भक्तपुर

भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा राष्ट्रिय गौरव आयोजनाको रुपमा अन्तर्राष्ट्रिय स्तरको बिस्तारित वीर अस्पताल निर्माण हुने भएको छ । आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७८/७९ भित्रमा (विस्तृत अध्ययन प्रतिवेदन) डीपीआर तयार गरी सक्ने अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य मार्फत जानकारी दिनुभयो । 

बिस्तारित अस्पतालमा पुग्न यातायातको सहजिकरणको लागि अस्पतालसम्म जाने जडीबुटी–मनोहरामा ४ लेनको करिडोर निर्माण गर्ने गरिने मन्त्री पौडेलले बताउनुभयो । वीर अस्पताल सञ्चालन भएको हालको स्थान साँघुरो र नयाँ सरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले ५ वर्षअघि चाँगुनारायण नगरपालिका १, २ र ४ मा पर्ने दुवाकोटस्थित जग्गाको छनोट गरी बिस्तारको प्रक्रिया थालेको हो । 

अस्पतालको नाममा करीब ५ सय ७० रोपनी जग्गाको लालपुर्जा समेत प्राप्त भईसक्यो । सो स्थानमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न एक हजार शय्याको अस्पताल र शिक्षण संस्था, पुस्तकालय, होस्टेल लगायत संरचना निर्माण गर्ने सरकारको लक्ष्य छ । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का अनुसार वीर अस्पताल बिस्तारका लागि चिनियाँ विशेषज्ञ टोलीले २०७५ चैत्र १२, १४ र १९ गते स्थलगत अध्ययन गरेर प्रतिवेदन दिएको छ । सो प्रतिवेदनमा जग्गा भिरालो स्थानमा भएको, सडक, विद्युत, पानी र ढल व्यवस्थापन भए मात्र अस्पताल बिस्तारको लागि संरचना निर्माण गर्न सकिने सुझाव पेश भएको समेत जनाएको छ । 

अस्पतालको प्रस्तावित स्थलको डीपीआर समेत भएको छैन । अस्पतालको प्रस्तावित स्थलमा पुग्न कोटेश्वर सल्लाघारी हुँदै ९ किलोकिटर टाढा पर्छ । पेप्सीकोलाबाट मनोहरा करिडोर निर्माणपछि कोटेश्वरबाट पाँच किलोमिटर दुरीमा पुग्न सकिन्छ ।


प्रतिक्रिया