विद्युत आपूर्ति अवरुद्ध हुँदा बझाङ अस्पताल अन्धकारमा

एक हप्तादेखि विद्युत अवरुद्ध हुँदा उपचार सेवा प्रभावित भएको जिल्ला अस्पताल बझाङ । तस्बिर : वसन्तप्रताप सिंह ।  

कार्तिक ७, २०७८ | बझाङ

लगातारको बेमौसमी वर्षापछि आएको बाढी पहिरोले विद्युत सेवा अवरुद्ध हुँदा जिल्ला अस्पताल बझाङमा उपचारमा सेवा प्रभावित भएको छ । एक हप्तादेखि जिल्ला अस्पतालमा विद्युत आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो । 

बाढी पहिरोले विभिन्न ठाउँमा विद्युतका पोल बगाएपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध भएको थियो । केन्द्रीय लाइन अवरुद्ध भएपनि दुई सय किलोवाट क्षमताको स्थानीय सुर्मा देवी जलविद्युत आयोजनाबाट अहिले सदरमुकाम चैनपुरमा विद्युत आपूर्ति सुरु गरिएको छ । यद्यपि, सदरमुकाम नजिकै सिमखेतमा रहेको अस्पतालमा भने विद्युत पुगेको छैन । 

विद्युत सेवा अवरुद्ध हुँदा बिरामीको शल्यक्रिया, अक्सिजन, नेवुलाइजर, एक्सरे, भिडियो एक्सरे जस्ता स्वास्थ्य सेवा प्रभावित भएको हो । विद्युत सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई थप समस्या भएको छ । विद्युत समस्याका कारणले अस्पतालमा आएका सेवाग्राहीलाई तत्काल सेवा दिन असजिलो बन्दै गएको अस्पतालले जनाएको छ । 

दैनिक सयौंको संख्यामा बिरामीहरु अस्पताल आउने गरेको र विद्युत नहुँदा उपचारमा समस्या हुने गरेको जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख डा.योगेन्द्र खातीले बताउनुभयो । ‘विद्युत सेवा अवरुद्ध भएको एक हप्ता भन्दा बढी भयो । अपतालमा भएको जेनेरेटर चलाएर सेवा दिईरहेका थियौँ । अब त डिजेल पनि सकियो,’ उनले भने, ‘बाढीपहिरोले सडक अवरुद्ध हुँदा बजारमा डिजेल अभाव छ । बाहिरबाट ल्याउन सकिने अवस्था पनि छैन । विद्युत नहुँदा शुक्रबारदेखि अधिकांश सेवा बन्द भएको छ ।’ 

सुत्केरी हुन नसकेका र बाढी पहिरोमा परेर घाइते भएकाहरु उपचारका लागि जिल्ला अस्पताल आउने गरेको र अधिकांश बिरामीको शल्यक्रिया गर्नुपर्ने भएपनि विद्युत नहुँदा समस्या भएको डा. खातीको भनाई छ । 

चैनपुर बजारमा विद्युत आपूर्तिमा समस्या नभएपछि अस्पतालमा बिजुली नभएको र विद्युत सेवा आपूर्तिका लागि विद्युत प्राधिकरणको बझाङ वितरण शाखा चैनपुरमा जानकारी गराएको अस्पतालले जनाएको छ । 

प्राधिकरणको वितरण शाखा चैनपुरले विद्युतको खपत बढी र उत्पादन क्षमता कम हुँदा बजारमा पनि आलोपालो विद्युत आपूर्ति गरिरहेको छ । अस्पताल लाइनमा पोल ढलेको र केहि स्थानमा मर्मत गर्नुपर्ने भएकाले विद्युत प्रशारण नियमित गर्न अझै समय लाग्ने वितरण शाखा चैनपुरका प्रमुख हरेन्द्र राय यादवले बताउनुभयो । 

अस्पताल लाइनमा पहिराले पोल ढालेको र ट्रान्सफर्मरमा समस्या देखिएका पनि चाँडै विद्युत आपूर्तिका लागि प्रयास गरिरहेको उहाँले बताउनुभयो । बैतडीको खोडपेदेखि चैनपुरसम्म एक सय भन्दा बढी पोल ढलेका कारण राष्ट्रिय प्रसारणको लाइन मर्मत गर्न समय लाग्ने देखिन्छ । डडेल्धुरासम्म सडक सञ्चालनमा रहेकाले अवरुद्ध विद्युत सेवा सुरु गर्ने प्रयास भईरहेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया