कैलालीको गेटामा मुटुरोग उपचार सेवा सुरु

चैत्र २८, २०८१ | धनगढी
कैलालीको गेटा अस्पतालमा मुटुरोग उपचार सेवा सुरु गरिएको छ । मुटुरोग विशेषज्ञ डा. अजय भट्ट गेटा अस्पतालमा सरुवा भएर आएपछि सेवा सुरु गरिएको हो ।
अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार यसअघि काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत डा. भट्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति करार सेवा अन्तर्गत गेटा अस्पतालमा पठाएको हो ।
डा. भट्टले मंगलबारदेखि ओपीडी सेवा सुरु गर्नु भएको हो । अस्पतालका सूचना अधिकारी कार्कीका अनुसार मुटुरोग विशेषज्ञ आएपछि अहिले अस्पतालमा दैनिक दश जनासम्म मुटुरोगका बिरामी आउने गरेका छन् ।
डा. भट्टले गेटामा हाल मुटुरोग परीक्षणका लागि अत्याधुनिक इसीजी र इलेक्ट्रोकार्डियाग्राम (इको) मेसिन उपलब्ध रहेको बताउनुभयो । ‘गंगालालमा प्रयोग तहको इको मेसिनले चेकजाँच हुने गरेको छ,’ डा. भट्टले भन्नुभयो, ‘केही समयमै हल्टर, टीएमटीद्वारा परीक्षण सेवा पनि उपलब्ध गराउने तयारी छ ।’
गेटामा निकट भविष्यमै क्याथ ल्याब सेवा सञ्चालनको तयारी भइरहेको डा. भट्टको भनाई छ । हाल सुदूरपश्चिममा क्याथ ल्याब सेवा उपलब्ध छैन । सो सेवा सञ्चालन हुनसके ह्दयघात लगायत मुटुका संवेदनशील, गम्भीर तथा आकस्मिक बिरामीको उपचारमा महत्वपूर्ण योगदान पुुग्ने चिकित्सक बताउँछन् ।