खैरहनीमा बालबालिकालाई पोषण अनुदान

चैत्र १७, २०८१ | चितवन
चितवनको खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषण अनुदान दिने भएको छ । ६ महिना पूरा भई तीन वर्ष उमेरसम्मका विपन्न परिवारका बालबालिकाले पोषण अनुदान पाउने छन् । बालबालिकालाई दैनिक एक अण्डा र एक गिलास दूध बराबरको अनुमानित रकम ४० रुपैयाँका कायम गरेर अनुदान दिन लागिएको हो ।
अनुुदान पाउने बालबालिकाका अभिभावकहरुको बैंक खातामा महिनाको एक हजार दुई सय रुपैयाँ उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । खैरहनीमा स्थायी रुपमा बसोबास गर्ने अति विपन्न घर परिवारका बालबालिकाको पोषणमा सुधार ल्याउन यो योजना सुरु गरेको खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनियाले बताउनुभयो ।
यो वर्षका लागि ९७ जना विपन्न बालबालिका पोषण अनुदानका लागि छनोट भएको उहाँले जानकारी दिनुभयो । अभिभावकको खातामा जाने अनुदान रकम दुरुपयोग नहोस् भन्नका लागि कडा अनुगमन हुने पनि उहाँको भनाई छ ।
उपप्रमुख कविता उप्रेतीले दुई वर्षसम्म बालबालिकाको ८० प्रतिशत र पाँच वर्षसम्म ९० प्रतिशत मानसिक विकास हुने र मानसिक तथा शारीरिक विकासमा पोषणको अत्यन्तै उच्च महत्व रहेकोले पोषण अनुदान सुरु गरेको बताउनुभयो ।
नगरपालिकाले लाभग्राही बालबालिकाको पोषणको अवस्था र स्वास्थ्य परीक्षण तथा अभिभावकलाई पोषणको महत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गरेको थियो ।
यो वर्ष छनोट भएका सबै ९७ जना विपन्न बालबालिकालाई मासिक रुपमा अनुदान रकम उपलब्ध गराउन आवश्यक सबै तयारी सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
यो अनुदानको लागि बार्षिक करिब १५ लाख रुपैयाँ खर्च हुने र आगामी वर्षदेखि वार्षिक २० लाख भन्दा बढी रकम अनुदानमा खर्च हुने प्रक्षेपण रहेको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले बताउनुभयो ।