स्वास्थ्य शिविरमा १३७९ जनाको आँखा परीक्षण

वैशाख १, २०८२ | स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालन गरिएको शिविरमा एक हजार तीन सय ७९ जनाले आँखा परीक्षण गराएका छन् । वालिङ नगरपालिकाको आयोजना र हिमालय आँखा अस्पतालको सहयोगमा निःशुल्क मोतियाविन्दु स्क्रिनिङ्ग शिविरको आयोजना गरिएको हो ।
शिविर चैत २५ देखि ३१ गतेसम्म वालिङ नगरभित्र विभिन्न सात स्थानमा सञ्चालन गरिएको थियो । शिविरमा आँखा परीक्षण गराएमध्ये ९ सय १५ जना महिला र ४ सय ६४ जना पुरुष सहभागी थिए ।
जाँच गरिएका कुल एक हजार ३ सय ७९ जनामध्ये ९७ महिलासहित १ सय ९० जनामा मोतियाबिन्दु देखिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
मोतियाबिन्दु पहिचान भएका बिरामीलाई आगामी बैशाख ६ र ७ गते हिमालय आँखा अस्पतालको सहयोगमा ग्रहौ प्राथमिक अस्पताल वालिङमा नै निःशुल्क अपरेसन गरिने पाण्डेले बताउनुभयो ।