चिकित्सकविहीन मुस्ताङ अस्पताल, उपचार सेवा प्रभावित

कार्तिक २३, २०७८ | म्याग्दी

म्याग्दीको जोमसोमस्थित मुस्ताङ अस्पतालमा चिकित्स अभावमा उपचार सेवा प्रभावित भएको छ । गण्डकी प्रदेश सरकारले म्याद थप नगरिदिएपछि करारका चिकित्सकको भरमा सञ्चालित १५ शय्याको मुस्ताङ अस्पताल डाक्टरविहीन भएको हो । 

स्थायी दरबन्दीका आठौं तहका निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी सम्हालेका मेडिकल अधिकृत डा.मनोज घिमिरे गत असोजमै संघीय मन्त्रालय सरुवा भएपछि करारमा नियुक्त डा. ऋषव खनाल र साजन बरालले अस्पताल सञ्चालन गरिरहेका थिए । 

खनाल र बरालको पनि कात्तिक १४ गतेदेखि प्रदेशको स्वास्थ्य मन्त्रालयले पुन:म्याद थप नगरेपछि मुस्ताङ अस्पताल चिकित्सकविहीन बनेको हो । स्थायी दरबन्दीका डाक्टर सरुवा र करारका डाक्टरको म्याद थप नहुँदा चिकित्सक अभाव भएको अस्पताल ब्यवस्थापन समितिका उपाध्यक्ष शर्मिला गुरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अस्पताल ब्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिले पटक–पटक प्रदेश सरकारलाई अस्पताललाई डाक्टरविहीन नगराउन आग्रह गर्‍यौँ । प्रदेश सरकारले म्याद थप्नै मानेन ।’ चिसो मौसम, कोरोना संक्रमण फेरि बढ्दो अवस्थामा अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा हिमालपारीका बिरामी उपचार सेवाबाट वञ्चित भएका छन् । 

अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएपछि घरपझोङ गाउँपालिकाबाट एक जना सिनियर एचए अर्जुन किसान, एक जना अनमी गरी दुई जनालाई मार्फा स्वास्थ्यचौकीबाट काजमा र छुट्टै स्थानीय घरपझोङ गाउँपालिकाबाट तलब भत्ता पाउने गरी एक जना फार्मेसिस्ट नियुक्त गरिएको छ । 

गुरुङले भन्नुभयो, ‘मुस्ताङमा मुस्ताङ्गी मात्र होईन, सडकले राष्ट्रिय सञ्जालमा जोडिएकोले दैनिक हजारौं देशविदेशका पर्यटक आउँछन । को कति बेला बिरामी पर्छ, सडकमा दुर्घटनाको जोखिम पनि रहने भएकोले अस्पतालमा डाक्टर अनिवार्य आवश्यक हो ।’ 

हिमालपारीको जिल्लामा हिउँदका सिजनमा धेरै मान्छे जाडो छल्न बेंशी झर्छन भन्ने बाहना बनाएर चिकित्सक नपठाउनु न्यायोचित नभएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया