वीपी प्रतिष्ठानमा सार्वजनिक खरिद ऐन विपरित ठेक्का स्वीकृत

मंसिर १०, २०७८ | सुनसरी

वर्खास्त प्रकृयाको अन्तिम समय चलिरहेको बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले एक कम्पनीसंग १६ करोड रुपैयाको आइसियू र भेन्टिलेटर खरिदका लागि ठेक्का स्वीकृत गरेका छन् । सार्वजनिक खरिद ऐन नियम विपरित उपकुलपति डा ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राडा गुरु खनाल र अस्पताल निर्देशक प्राडा गौरिशंकर साहले १५ करोड ८४ लाख २१ हजार २ सय रुपैयाको ३० थान आइसियु र भेन्टिलेटर खरिद गर्ने स्वीकृत गरेका छन् । 

गत ८ गते सुनसरीको इटहरीस्थित एमवि मेडिटेक प्रा. लि. लाई प्रतिष्ठानका उपकुलपति गिरीको निर्देशनमा अस्पताल निर्देशक साहले उपकरण आपूर्तिका लागि आसय पत्र लेखेका छन् । कोरोना माहामारीको दोश्रो लहरसंग जुध्न प्रतिष्ठानले आइसियु र भेन्टिलेटर खरिदका लागि गत आसार ४ गते एक सूचना प्रकाशित गरेपनि त्यसबेला खरिद प्रकृया रोकेर अहिले ६ महिनापछि सार्वजनिक खरिद ऐन नियम छलेर लागतको ५ करोड बढी विड गर्ने कम्पनीलाई आसय पत्र लेखेको हो । प्रतिष्ठान सुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले प्रतिष्ठानमा आन्दोलन गरेपछि पदाधिकारी हटाउने प्रकृया हाल चलिरहेको छ । प्रतिष्ठानको सहकुलपति स्तरीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी प्रतिष्ठानका पदाधिकारीलाई दैनिक प्रशासनिक र अनिवार्य दायित्व सिर्जना हुने आर्थिक कार्यबाहेक थप आर्थिक दायित्व सिर्जना हुने अन्य कार्यहरू नगर्न र नगराउन पटकपटक लिखित निर्देशन दिइसकेको छ ।  


प्रतिक्रिया