स्वास्थ्य केन्द्रको जग्गा ब्यक्तिको नाममा नामसारी

माघ २६, २०७८ | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ स्थित आधारभूत स्वास्थ्य केन्द्र रहेको डेढ कठ्ठा जग्गा व्यक्तिको नाममा नामसारी भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयको ३५ लाख रुपैयाँ लागतमा कावासोती–८ स्थित आधारभूत स्वास्थ्य केन्द्रको भवन रहेको जग्गा राष्ट्रिय आवास कम्पनीको मिलोमतोमा ब्यक्तिको नाममा दर्ता गरेको पाइएको हो । 

मालपोत कार्यालय र नापी कार्यालयको समेत मिलोमतोमा सो जग्गा कावासोतीकै हरिभक्त कँडेलको नाममा जग्गाधनी पुर्जा दिएको पाइएको छ । कावासोती नगरपालिकाले आवास कम्पनीलाई २०७६ साल भदौमा पत्र लेखेर सो कित्तामा वडा कार्यालय भवन बनाउन पर्ने भएकाले कोही/कसैलाई नदिनु भनेर पत्राचार गरेको थियो । 

नगरपालिकाको लिखित पत्रलाई बेवास्ता गर्दै कावासोती मालपोत, नापी कार्यालयको समेतको मिलोमतोमा आवास कम्पनी धनेवाले हरी भक्त कँडेलको नाममा २०७७ साल पुस ९ गते जग्गाधनी पुर्जा दिएको खुलेको हो । वडा अध्यक्ष आनन्द गुरुङले नगरपालिकाले आवास कम्पनीलाई पत्राचार गर्ने बेलासम्म त्यो जग्गाको कित्ताकाट समेत नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नगरपालिकाले आवास कम्पनीलाई पत्राचार गर्ने बेलासम्म त्यो जग्गाको कित्ताकाट समेत भएको थिएन । पछि राष्ट्रिय आवास कम्पनीको नाममा गयो । त्यो जग्गामा स्वास्थ्य कार्यालयको भवन निर्माण भईसकेपछि त्यो सबै जग्गा जग्गा ब्यक्तिको नाममा पुर्जा बनेको भेटियो ।’ 

कावासोती नगरपालिका–८ स्थित ५ (क) कित्ता नम्बर ६१९२ को १ कठठा १५ धुर जग्गामा आधारभूत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन निर्माण सम्पन्न भएको एक महिनापछि नै सो भवन र त्यसले ओगटेको जग्गाको पुर्जा ब्यक्तिको नाममा सारिएको हो । 

मालपोत कार्यालय र नापी कार्यालय कावासोतीको समेत मिलोमतोमा राष्ट्रिय आवास कम्पनी धनेवा (पश्चिम नवलपरासी) ले सो जग्गा कावासोतीकै हरिभक्त कँडेलको नाममा जग्गाधनी पुर्जा दिएको पाइएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी आवास कम्पनीले सो जग्गा ब्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

वडा नम्बर ८ का वडा सदस्य देवी पौडेलका अनुसार त्यो जग्गामा वडा कार्यालय वा अन्य सरकारी प्रयोजनमा उपयोग गर्ने भनेर पत्र पठाईसकेपछि पनि जानी जानी मिलोमतोमा अनियमितता गरेको देखिन्छ । 

‘हामीले कसैलाई नदिनु भनेको जग्गा ब्यक्तिलाई पुर्जा दिएछन पौडेलले भन्नुभयो, ‘आवास कम्पनीबाटै सरकारी सम्पत्तिको हिनामिना भयो । सरकारी भवन र त्यसले चर्चेको जग्गा ब्यक्तिको नाममा गर्ने आवास कम्पनी धनेवाका प्रमुख महेन्द्र थापा सम्पर्कमा आउन चाहेनन् ।


प्रतिक्रिया