धरानका ४९ सामुदायिक विद्यालयमा निशुल्क भिटामिन ‘डी’ कार्यक्रम

सुइ मार्फत भिटामिन डी लगाउँदै शिक्षा निकेतन माविकी बालिका । तस्बिर: रेडियो कान्तिपुर । 

फाल्गुन १९, २०७८ | सुनसरी

सुनसरीको धरान उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई लक्षित गरी बिहीबारदेखि निशुल्क रुपमा भिटामिन डी कार्यक्रम सुरु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागसँगको सहकार्यमा रोटरी क्लब अफ धरानले विद्यार्थीहरुलाई नि:शुल्क भिटामिन डी खोप कार्यक्रम सञ्चालन गरेको हो । धरान–३ स्थित शिक्षा निकेतन माविबाट खोपको कार्यक्रम सुरु गरिएको वीपी प्रतिष्ठानको हाडजोर्नी विभाग प्रमुख प्रा.डा विक्रम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

धरानका सामुदायिक विद्यालयका करीब १० हजार विद्यार्थीलाई इन्जेक्सन मार्फत निशुल्क रुपमा भिटामिन डी लगाइदिन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । धरानका ४९ वटा सामुदायिक विद्यालयका करीब १० हजार विद्यार्थर्ीका लागि भिटामिन डी खोप लगाईने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल र भारतमा गरिएको विभिन्न अध्ययनले जनसंख्याको ४० देखि ९० प्रतिशतलाई भिटामिन डी कमी भएको पाइएको छ । सामुदायिक स्वास्थ्यको हिसाबले भिटामिन डी जाँच गर्दा ३० देखि १०० युनिटलाई राम्रो मानिन्छ । तर, नेपालमा अधिकांशमा ३० युनिट भन्दा कम भएको पाइएको छ । यसै कारणले भिटामिन डी निशुल्क उपलव्ध गराउने लक्ष्य अनुसार रोटरी क्लब अफ धरान घोपाले कार्यक्रम ल्याएको हो ।’ 

विद्यार्थीलाई भिटामिन डी उपलब्ध गराउनका लागि सामुदायिक विद्यालय नै सही क्षेत्र हुने भएकाले सो कार्यक्रम सञ्चालन गरिएको प्रा डा श्रेष्ठको भनाई छ । उहाँले विकसित मुलुकमा खाद्य पदार्थमै भिटामिन डी हालेर विक्रि वितरण गर्ने गरिएको तर नेपाल जस्तो विकासोन्मुख मुलुकमा त्यस्तो व्यवस्था नभएकाले शरीरमा भिटामिन डीको कमी हुने गरेको बताउनुभयो । 

सन्तुलित खानपान पनि नखाने र घामले छाला डढ्छ भनेर घाममा नबस्ने भएकाले भिटामिन डी पाउन नसक्दा त्यसले अरु शारीरिक रोग बढ्ने प्रा.डा श्रेष्ठको भनाई थियो । उहाँले भन्नुभयो, ‘शारिरिक र मानसिक रुपमा स्वास्थ्य रहन, मुटुको लागि, हाडजोर्नीको समस्याको लागि भिटामिन डी चाहिन्छ । 

भिटामिन डी लगाउदा नोक्सानी हुँदैन । फाइदा मात्रै हुन्छ । भिटामिन डी कमी हुँदा शरीरमा क्याल्सियम कमी हुन्छ र हाड कमजोर भएको बनाउँछ ।’ रोटरीका धरान घोपाका अध्यक्ष तुलसीप्रसाद वस्तीले संस्थाले सामाजिक कार्यहरु गर्दै आएको र त्यसैको निरन्तरताको लागि भिटामिन डी कार्यक्रम गरिएको बताउनुभयो ।


प्रतिक्रिया