ओमसतियामा उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी महिला कार्यक्रम सुरु

पुस १९, २०७९ | तिलोत्तमा

रुपन्देहीको ओमसतिया गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी महिला कार्यक्रम सुरु गरेको छ । गाउँपालिका भित्रका महिलालाई स्वास्थ्य संस्थामै प्रसूति गराउने, गर्भवती तथा सुत्केरी र नवजात शिशुमा हुने कुपोषणको दर घटाऊन सो कार्यक्रम सुरु गरिएको हो । 

सो कार्यत्रममा बालमृत्युदर एवम् मातृ मृत्युदर घटाउने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी महिला कार्यक्रम कार्यान्वयनमा आएसँगै दिगो विकासका लक्ष्यलाई पनि गाउँपालिकामा लागू गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको बताउनुभयो । 

गाउँपालिकाका अनुसार कार्यक्रम अन्तर्गत चारपटक सुत्केरी जाँच गरेको गर्भवती तथा सुत्केरीहरुका लागि पौष्टिक आहार वितरण सुरु गरेको छ । ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीका अनुसार यसरी उपलब्ध गराईने पौष्टिक आहारमा स्वादिलो हलुवा, मिठो दलिया र विशेष प्रकारको खिर वितरण सुरु गरिएको छ ।

गत साउन यता ४५ दिने सुत्केरी तथा स्वास्थ्य संस्थामा नियमित जाँच गराईरहेकी गर्भवतीलाई उपाध्यक्ष सुनिता चौधरी आफै घरदैलोमा शुभकामनासँगै पोषण सामग्री बितरण गर्नु भएको थियो । यसले महिलाहरुमा स्वास्थ्य संस्थाप्रति विश्वास बढाएको उहाँको भनाई छ । ‘हाम्रो लक्ष्य पनि त्यही हो, महिलाहरुले स्वास्थ्य संस्थालाई अधिकतम प्रयोग गरुन्’, चौधरीले भन्नुभयो, ‘घरदैलोमा शुभकामनासँगै गर्भ अवस्थामा हुने जटिलताको बारेमा पनि जानकारी दिने गरेकी छु ।’

स्वास्थ्यकर्मीसँगै सम्बन्धित महिलाको घरघरमै पुगेर १ हजार ५० रुपैयाँ बराबरको पौष्टिक आहार वितरण गर्ने गरिएको गाउँपलिकाले जनाएको छ । गाउँपालिकामा सरदर वार्षिक ६ सय ६७ शिशुहरु जन्मिने गरेको तथ्यांक रहेको । 

यस वर्ष पालिकाले ५ सय ७८ जनालाई पुग्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले बताउनुभयो । यो बजेट अपुग भए आवश्यकता अनुसार थप रकम यसैको लागि छुट्टयाउन सकिने उहाँको भनाई छ । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञवालीका अनुसार ओमसतियामै रहेको प्रसूति केन्द्रमा सुत्केरी गराउनेलाई १ हजार ५ सय बराबरको पोषण झोला पनि वितरण गर्ने गरिएको छ । झोलामा सुत्केरीलाई आवश्यक पर्ने अण्डा, घ्यू, काजु, किसमिस, बदाम, नरिवल, ज्वानो र भेली जस्ता सामग्री दिने गरेका छन् । 

ओमसतियामा बसन्तपुर स्वास्थ्य संस्था छोटकी रामनगर स्वास्थ्य संस्थामा गरी २ वटा प्रसूति केन्द्र रहेका छन् । गाउँपालिकामा यी प्रसूति केन्द्रमा जाने गर्भवतीलाई लक्षित गरी निशुल्क एम्बुलेन्सको ब्यवस्था पनि रहेको स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो । 


प्रतिक्रिया