जनशक्तिको अभावमा नारायणी अस्पतालको उपचार सेवा प्रभावित

चैत्र २१, २०७९ | पर्सा

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा जनशक्तिको अभावमा उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा कुल १ सय ९१ दरबन्दी रहेकोमा हाल १ सय ६३ जना मात्र पदपूर्ति रहेको छ । बाँकी पद लामो समयदेखि रिक्त छ । अस्पताल विकास समितितर्फ पनि हाल दरबन्दी भन्दा कम नै जनशक्ति रहेका छन् ।

विकास समितितर्फ १ सय ३० दरबन्दी रहेकोमा ८४ स्थायी, ७ करार र ३३ ज्यालादारीका गरी १ सय २४ मात्र दरबन्दी पदपूर्ति रहेको अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहले जानकारी दिनुभयो । अस्पतालमा हाल ११ औ तहको मेडिकल सुपरिटेण्डेन्टको दरबन्दी रिक्त छ ।

प्रमुख कन्सल्टेन्ट अर्थो सर्जन, प्रमुख इएनटी सर्जन, प्रमुख कन्सल्टेन्ट जनरल सर्जन, वरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिष्ट लगायत अधिकांश पद खाली हुँदा उपचारका लागि आउने बिरामी सेवा पाउनबाट वञ्चित भएका छन् । डा. सिंहका अनुसार संघीय सरकारले सो अस्पताललाई २०७४ मा केन्द्रीय अस्पताल घोषणा गरेपनि त्यस अनुरुपको जनशक्ति भने उपलब्ध गराएको छैन ।

अस्पतालका फ्रवक्ता सिंहले जनशत्ति अभाव अस्पतालको ठूलो समस्या रहेको स्वीकार्नुभयो । उपलब्ध दरबन्दी मध्ये पनि केही काठमाडौं, चितवन तथा जनकपुर लगायतमा काजमा सरुवा गराई कार्यरत रहेको उहाँको भनाई छ । अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालय र विभागसँग रिक्त दरबन्दी पूर्तिका लागि पटकपटक पत्राचार गरेपनि आफूहरुको माग सुनुवाई नभएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया