नारायणी अस्पतालको एमआरआइ मेसिन बन्द

श्रावण १०, २०८० | पर्सा
पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको एमआरआइ मेसिन लामो समयदेखि सञ्चालनमा नआउँदा सेवा प्रभावित भएको छ । यसअघि हिलियम ग्यासको अभावले अस्पताल परिसरमा लामो समय थन्किएको एमआरआइ मेसिन अहिले विद्युत अभावले सञ्चालन हुन सकेको छैन ।
आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले हिलियम ग्यासको अभाव रहेको भन्दै मेसिन जडानमा ढिलाई गरेकोमा अहिले अस्पतालमा विद्युतको उपलब्धता अपुग भएको कारण देखाउँदै सञ्चालन नगरेको हो ।
अस्पतालका सूचना अधिकृत डा.उदयनारायण सिंहका अनुसार दुई साताअघि मेसिनको सफल परीक्षण भएपनि निर्बाध रुपमा चलाउन विद्युतको अभाव छ । एमाआरआइ मेसिन निर्बाध रुपमा चलाउन २४ सै घण्टा विद्युत आपूर्ति हुनुपर्नेमा अहिले अस्पतालमा पर्याप्त बिजुली उपलब्ध नभएको उहाँको भनाई छ ।