एलोपेथिक औषधी बेच्ने गुल्मीका दूई आयुर्वेदिक औषधी पसल कारबाहीमा

माघ २६, २०८० | गुल्मी

कानून विपरित एलोपेथिक औषधी बिक्री र क्लिनीक सञ्चालन गर्ने दुई आयुर्वेदिक औषधी पसललाई जिल्ला प्रशासन कार्यालय गुल्मीले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

रेसुङ्गा नगरपालिका वडा नं. ८ का सम्पन्न आयुर्वेद र सफल होमियोप्याथिक औषधी पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाहीस्वरुप प्रशासनले १=१ लाख रुपैयाँका दरले जरिवाना गरेको हो ।

आयुर्वेदिक र होमियोप्याथिक औषधी बिक्रीको मात्र अनुमति लिएका ती दुई पसलेले एलोपेथिक औषधी बेचेको, एक्सरे तथा भिडियो एक्सरे, फिजीयोथेरापी र नेवुलाईजर सेवा सञ्चालन गरेको, बिरामी भर्ना गरेर उपचार गर्ने गरेको, चिकित्सकको परामर्श बिना ल्याब रिफर गर्ने गरेको फेला पारेपछि जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरी कारबाही अगाडि बढाएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकरी हरिप्रसाद गैरेले एलोपेथिक औषधी पसलको गोदाम नै राखेको र चिकित्सकीय परामर्शविना ल्याव रिफर गर्ने गरेको समेत भेटिएकोले कारबाहीका लागि विभागमा लेखि पठाइएको बताउनुभयो । 


प्रतिक्रिया