राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका लागि ५० सिटको अनुमति

भाद्र २२, २०८१ | दाङ

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रतर्फ एमबीबीएसको पढाइ हुने भएको छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापनका लागि चिकित्सा शिक्षा आयोगले शुक्रबार ५० सिटको अनुमति दिएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनुभयो । 

यो लुम्बिनी प्रदेशकै महत्वपूर्ण उपलब्धी भएको लम्सालले बताउनुभयो । प्रतिष्ठान स्थापनाको ७ वर्षपछि एमबीबीसी पठनपाठनका लागि आयोगबाट अनुमति प्राप्त भएको उहाँले जानकारी दिनुभयो । 

हाल प्रतिष्ठानमा बीएससी नर्सिङ, बीएनएस र एमडीएमएसका कक्षाहरु सञ्चालन भईरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताउनुभयो । प्रतिष्ठानमा हाल ४० विशेषज्ञ, १ सय ७५ नर्स र ५० जना प्यारामेडिक्स कार्यरत छन् । 

अहिले प्रतिष्ठानमा दैनिक सरदर ६ सय बिरामीले सेवा लिइरहेको प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले जानकारी दिनुभयो । प्रतिष्ठानमा ३ सय शय्याको क्षमता छ । 

सरकारको ‘एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने नीति अनुसार स्थापित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लुम्बिनीको एक मात्र प्रतिष्ठान हो । २०१६ सालमा महेन्द्र हेल्थ सेन्टरका रुपमा स्थापित भएको स्वास्थ्य संस्था अहिले प्रतिष्ठानमा परिणत भएको हो । 

२०२१ सालमा १५ शय्याको महेन्द्र अस्पताल, २०५० सालमा २५ शय्याको अस्पताल र २०६४ मा ५० शय्याको अस्पतालमा स्तरोन्नति भएको थियो । २०६५ चैत १२ गते राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति भएको थियो । २०७१ सालमा १ सय शय्याको अस्पताल हुँदै २०७४ सालमा प्रतिष्ठानमा रुपान्तरण भएको हो ।


प्रतिक्रिया