तनहुँका १४ हजार बढी किशोरीहरुलाई एचपीभी खोप लगाइदै

माघ १०, २०८१ | तनहुँ

पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (हृयुमन प्यापुलीना भाइरस) विरुद्धको खोप जिल्लाका १४ हजार बढी किशोरीलाई लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १४ हजार २६८ जना किशोरीहरुलाई एचपीभी खोप लगाइने भएको हो । 

गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीका अनुसार विद्यालय जाने १४ हजार ७८ जना र विद्यालय नजाने २ सय जनालाई यो खोप लगाइदैछ । 

उहाँका अनुसार पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म भानु, व्यास नगरपालिका र देवघाट, बन्दीपुर, आावुखैरेनी गाउँपालिकाका किशोरीहरुलाई र दोश्रो चरणमा माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी, भिमाद नगरपालिका र म्याग्दे, घिरिङ, ऋषिङ गाउँपालिकाका किशोरीहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ ।

विद्यालय जाने किशोरीहरुलाई विद्यालयमै तयार गरिएको खोप केन्द्रबाट र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई परिचय खुल्ने कागजपत्र सहित पायक पर्ने विद्यालयमा गएर खोप लगाउन सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एचपीभी भाइरसको संक्रमणबाट हुने भएकाले अभियानकै रुपमा यो खोप कार्यक्रम अगाडि बढाइएको उहाँको भनाई छ ।

एचपीभी खोप अभियान २०८१ मा जिल्लाभर २५९ खोप केन्द्रबाट २५९ जान स्वास्थ्यकर्मीहरुले खोप लगाउने छन भने ५१८ जान स्वास्थ्य स्वयंसेवक खटिने कार्यालयले जनाएको छ । 


प्रतिक्रिया