बाग्मती प्रदेशका ३ लाख किशोरीलाई एचपीभी खोप

माघ १५, २०८१ | हेटौंडा

बाग्मती प्रदेशका करीब ३ लाख किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । हेटौंडास्थित प्रदेशको स्वास्थ्य निर्देशनालयले २ लाख ९८ हजार ३ सय ५ जना किशोरीलाई माघ २२ गतेदेखि फागुन ६ गतेसम्म एचपीभी खोप लगाउने भएको हो । 

निर्देशनालयले प्रदेशका १३ जिल्लामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालयमा अध्ययन नगर्ने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाइने जनाएको छ । 

मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले स्कूलमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका २ लाख ७५ हजार २ सय ३ जनालाई एचपीभी खोप लगाइने बताउनुभयो । साथै स्कू्लमा अध्ययन नगर्ने १० देखि १४ वर्षसम्मका २३ हजार २ सय ३४ जना किशोरीलाई खोप लगाउने उहाँले जानकारी दिनुभयो । 

खोप लगाउनका लागि प्रदेशमा ४ हजार ५ सय ७९ वटा खोप केन्द्र रहेका छन् । सो खोप केन्द्रमा ४ हजार ३ सय २४ जना स्वास्थ्यकर्मी र ८ हजार ७ सय ३६ जना महिला स्वयमसेविका खटिने निर्देशनालयले जनाएको छ । 

यसैगरी मकवानपुरका बाईस हजार ७ सय १३ किशोरीलाई एचपीभी खोप लगाईने भएको छ । फेब्रुअरी ४ मा मनाईने विश्व क्यान्सर विरुद्धको दिवसको अवसर पारेर एचपीभी खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो । 

उहाँका अनुसार पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकोले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी खोप लगाउने लागेको हो । 

मकवानपुरमा सबैभन्दा बढी किशोरी हेटौंडा उपमहानगरमा रहेका छन् । विद्यालयमा अध्ययनरत एघार हजार ६८ जना र विद्यालय बाहिरका एक सय पाँच जना गरी एघार हजार १ सय ७३ जनालाई खोप लगाइने छ । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक रुपमा ४ महिलाको मृत्यु हुने गरेको छ ।


प्रतिक्रिया