स्वास्थ्य सचिव नियुक्तिको विषयलाई लिएर मन्त्रालयको प्रष्टीकरण

फाल्गुन २३, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सचिव नियुक्तिको विषयलाई लिएर प्रष्टीकरण दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साप्ताहिक प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा प्रकास बुढाथोकीले बढुवा समितिको सिफारिस अनुसार मन्त्रिपरिषदको बैठकले डा विकास देवकोटालाई मन्त्रालयको सचिवमा नियुक्त गरेको बताउनुभयो ।
यसैबीच मन्त्रालयले नसर्ने रोगको जोखिमबाट बच्नका लागि अहिले सञ्चालित अभियानमा सहभागि हुन आग्रह गरेको छ । नसर्ने रोगबाट हुने क्षतिको मध्यनजर गर्दै मन्त्रालयले नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि अभियान सञ्चालन गरीरहेको छ । गत वर्षको तथ्यांक अनुसार देशभर ५ लाख ८४ हजार ३ सय ४७ जनामा मधुमेह, ३० हजार ३ सय ३० जनामा मुटु तथा रक्तनली सम्बन्धी रोग, ९७ हजार ३ सय ८७ जनामा क्यान्सर र २ लाख ५९ हजार १ सय १० जनामा श्यासप्रश्वास सम्बन्धी दीर्घ रोग विशेषगरी सीओपीडी देखिएको उहाँले बताउनुभयो ।
यस्तै बाँके जिल्ला अझै पनि हात्तिपाइले रोगको जोखिममा रहेकाले विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको औषधि सेवन कार्यक्रममा सहभागि हुन पनि आग्रह गर्नुभयो । एम्बुलेन्स सेवाका बारेमा पनि गुनासो बढेको भन्दै दर्ता भएको बाहेक अन्य स्थानमा सेवा प्रदान नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।