तिलोत्तमामा आमा सुरक्षा कार्यक्रम, सबै प्रसूति सेवा निः शुल्क

जेष्ठ १९, २०८२ | तिलोत्तमा

सुरक्षित मातृत्व प्रवर्धन गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले क्रिमसन अस्पतालसँग सम्झौता गरेको हो । 

सम्झौता पश्चात आमा हुने महिलाका लागि सबै प्रसूति सेवा निःशुल्क उपलब्ध गराइनेछ । सुरक्षित मातृत्व प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकाले क्रिमसन अस्पतालसँग ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी रुपमा सञ्चालन गर्न महत्वपूर्ण सहमति गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । 

यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन एक उदाहरण हुनेछ,’ उनले भने, ‘यसबाट तिलोत्तमा नगरवासी तथा अन्य छिमेकी नगरपालिका र अन्य जिल्लाका समेत महिलालाई सेवा दिइनेछ ।’ 

कार्यक्रमले सबै महिलाको पहुँच सुनिश्चित गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको अत्यधिक चापलाई समेत कम गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । 

सेवा सहज र छिटो उपलब्ध गरिने व्यवस्था भएकाले मातृ मृत्युदरमा उल्लेखनीय सुधार आउने विश्वासका साथ नगरपालिकाले यो कार्यक्रम सुरु गरेको खाँणको भनाई छ । नगर क्षेत्रभित्रका सबै महिलाको सहज पहुँच सुनिश्चित गर्ने यो पहलले सुरक्षित मातृत्वतर्फ नगरको प्रतिबद्धता पुनः पुष्टि गरेको उहाँले उल्लेख गर्नुभयो । 


प्रतिक्रिया