कोरोना महामारीबीच नसर्ने रोगले भयावह रुप लिँदै : स्वास्थ्य विज्ञ

आश्विन २५, २०७७ | काठमाडौं

कोरोना भाइरस संक्रमणले आक्रान्त भइरहेका बेला नसर्ने रोगले भयावह रुप लिँदै गएका भन्दै स्वास्थ्य विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी दोस्रो विश्व ज्ञान सम्मेलनमा डा.अभिनभ वैद्यले मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मिर्गौलामा खराबी, दम, माइग्रेन, डिप्रेशन, मोटोपना लगायत नसर्ने रोगहरुले भयावह अवस्था लिँदै गएको उनीहरुले बताएका छन् । डा. अभिनभ वैधले ४० वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवाहरु नसर्ने रोगबाट प्रभावित बनेको जानकारी दिनुभयो ।

 डा. सरोज निरौलाले विश्वमा वार्षिक १० लाख मानिसहरुले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताउनुभयो । क्यान्सरबाट ज्यान गुमाउनेहरुमा ७० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका मानिसहरु रहेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा पनि क्यान्सरका रोगीहरु बढ्दै गएको बताउँदै उहाँले नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । 

यस्तै अस्ट्रेलियामा सिनियर मेन्टल हेल्थ एजुकेशन अफिसरका रुपमा कार्यरत डा. भरत नेपालले नेपालमा आत्महत्याको दर बढ्दो क्रममा रहेको र त्यसमा पनि पुरुषको तुलनामा महिलाहरुले बढी आत्महत्या गर्ने गरेको बताउनुभयो । कुल आत्महत्यामध्ये ४५ प्रतिशतसम्म महिलाहरुले आत्महत्या गर्ने प्रवृति देखिएको उहाँले जानकारी दिनुभयो । नेपालले मानसिक स्वास्थ्यको विषय महामारीभन्दा अगाडीदेखि नै उठेको बताउनु भयो । तर कोरोना महामारीका कारण थप यसको जटिलता बढेको उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालले कोरोना महामारीका कारण रोजगारी गुमाउँदा, लामो समयसम्मको बेरोजगारीका कारण कमजोर आर्थिक अवस्था तथा अभावका कारण अधिकांशको मानसिक स्वास्थ्यमा असर परेको बताउनुभयो । मानसिक समस्याबाट बच्नका लागि सकारात्मक सोच, स्वस्थ जीवन शैलीमा ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

डा. कृष्णबहादुर थापाले बालबालिकामा जन्मजात देखिने डिस्लेक्सियाको प्रभाव बढ्दै गएको बताउनुभयो । विश्वमा विद्यालय जाने अवस्थाका ३ देखि १९ प्रतिशत बालबालिकाहरुमा यस्तो समस्या रहने अध्ययनले देखाएको बताउँदै नेपालको सन्दर्भमा पनि बालबालिकाहरुमा यस्तो समस्या बढ्दै गएको जानकारी दिनुभयो । सचेतनाको अभावले नेपालमा यस्तो रोग लागेका बच्चाहरुका लागि छुट्टै शिक्षा प्रणालीको व्यवस्था गर्न नसकिएको उहाँको भनाई थियो । विज्ञहरुले नसर्ने रोगहरुले भयावह रुप लिँदै गएकाले यी रोग निराकरणमा सम्बन्धित सबै सरोकारवालाले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । चेतनाको कमी, प्रविधिको अभाव, मानव स्रोत साधनको अभाव, अनुसन्धानको अभाव लगायत कारण विकासशील मुलुकहरुमा यसको समस्या बढ्दै गएको उनीहरु बताउँछन् ।  


प्रतिक्रिया