एनआरएनए ऐन कार्यन्वयनमा सरकार प्रतिबद्ध छ : राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना

चैत्र ३१, २०७७ | काठमाडौं

लन्डन । नेपाली नागरिकता निरन्तरता र प्रस्तावित गैर आवासीय नेपाली ऐनबारे नेपाल सरकार तथा सरोकारवाला अधिकारीहरुसँग अन्तरक्रिया भएको छ । नेपाल सरकारले गैर आवासीय नागरिकता ऐन तयार गरि सम्बन्धनका लागि संसदमा दर्ता भइसकेको अवस्थामा प्रवासी नेपाली एकता मञ्च बेलायतले नेपाल सरकारका आधिकारिक ब्यक्तित्वसँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले नेपाल सरकारले गैरआवासीय नेपाली ऐन कार्यन्वयन र नागरिकताको निरन्तरता लगायतका विषयमा सरकारले यसअघि पनि निर्णय गरिसकेको र हाल संसदमा विचाराधीन विधेयक पारित गर्ने सन्दर्भमा पनि सरकारमा एक प्रकारको सहमति भइसकेको बताउनुभयो । ऐनका सम्बन्धमा पनि सुधार गर्नुपर्ने कुराहरु सरकारलाई सुझाव स्वरुप जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । गैरआवासीय नेपाली प्रति सरकार जिम्मेवार रहेको भन्दै ढुकक रहन पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली ऐन बनाउन सुरु देखि नै खटिरहेका पूर्व कानूनमन्त्री शेर बहादुर तामाङले गैर आवासीय नेपालीका मागप्रति सरकार सकारात्मक रहेको र छिट्टै ती मागहरु सम्बोधन हुने आश्वासन दिनुभयो । ऐन कार्यान्वयनका लागि कुनै पनि बाधा नभएको उहाँको भनाई थियो ।

पछिल्लो समयमा सरकारकै तर्फबाट ऐन बनाउने काममा लागेका कानूनबिद् कृष्ण भक्त पोख्रेलले पनि गैर आवासीय नागरिकलाई आर्थिक, सांस्कृतिक 
तथा सामाजिक अधिकार सहितको नागरिकता दिइएको उल्लेख गर्नुभयो । एनआरएनए केन्द्रिय महासचिव हेमराज शर्माले सांसदमा दर्ता भएको ऐनबारे सुरुवाती दिनदेखि भइआएका पहलका बारेमा जानकारी गराउनुभएको थियो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले पर्वतारोही निर्मल पूर्जा र नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी गौरिका सिंहलाई सम्झंदै नेपालले दोस्रो पुस्तालाई पनि हौसला बढाउनुपर्नेमा जोड दिनुभयो ।

एक पटकको नेपाली सदाका लागि नेपाली नागरिक’ भन्ने मुल नारा बोकेर हिँडेका गैरआवसीय नेपालीहरु प्रस्तावित ऐनले संशकित भइरहेका बेला कार्यक्रमले केही राहत दिएको र आगामी दिनमा बिभिन्न तहबाट नागरिकता निरन्तरता को सवालमा दबाबमूलक कार्यक्रमहरू जारी रहने मञ्चका पूर्ब अध्यक्ष तथा एनआरएन आईसीसी सदस्य रामशरण सिमखडाले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष , पूर्व कानूनमन्त्री माननीय शेरबहादुर तामाङ, कानून न्याय तथा मानव अधिकार समितिका सभापति माननीय कृष्ण भक्त पोख्रेल, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव हेमराज शर्मा तथा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ लगायत उपस्थित थिए ।

यस्तै कार्यक्रममा अमेरिका, जापान, हङकङ, इजरायल, क्यानडा,आयरल्याण्ड अष्ट्रिया कतार, ईजरायल, अष्ट्रेलिया, यूएई, बेल्जियम, पोर्चुगल, डेनमार्क, फ़्रान्स,नर्वे, टर्की, पोल्यान्ड, जर्मनी, चेक रिपब्लिक आदि देशबाट पनि एनआरएनए राष्ट्रिय समिति अध्यक्ष एवम् प्रवासी नेपाली एकता मञ्चका प्रमुखहरु सहभागी थिए । उनीहरुले आआफ्ना सुझावहरु दिए । कार्यक्रममा बेलायतमा रहेका सामाजिक अगुवाहरुको पनि उपस्थिति थियो ।


प्रतिक्रिया