'गैरआवासीय नेपाली नागरिकता' कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

श्रावण २६, २०७८ | काठमाडौं

गैरआवासीय नेपाली संघले 'गैरआवासीय नेपाली नागरिकता' कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । बालुवाटारमा आज भएको भेटमा संघका अध्यक्ष कुमार पन्तले  लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको संघले जनाएको छ ।

यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष पन्तले आग्रह गर्नुभएको जनाइएको छ । सो अवसरमा उपस्थित संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका बिट्रिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भएबमोजिम गैरआवासीय नेपाली नागरिकतालगायतका विषयमा छिट्टै टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेको संघले जनाएको छ । भेटमा संघका उपाध्यक्षत्रय डा बद्री केसी,सोनाम लामा, रविना थापा, संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटा, कार्यकारी प्रमुख राजेश राणालगायत थिए ।


प्रतिक्रिया