विश्व नेपाली स्वास्थ्य सम्मेलन लण्डनमा सुरु

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७८ | काठमाडौं

विश्व नेपाली स्वास्थ्य सम्मेलन तेस्रो संस्करण लण्डनमा सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको स्वास्थ्य समितिले लन्डनमा सम्मेलन आयोजना गरेको हो ।

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक एवं सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक डा. सन्जिव सापकोटाले सम्मेलनका लागि करिब एक वर्ष देखि तयारी भएको जानकारी दिनुभयो । सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकले कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

तीन दिने सम्मेलनको पहिलो दिन आज चिकित्सकहरुले भर्चुअल माध्यमबाट आफ्नो अनुसन्धान पत्र प्रस्तुत गरिरहेका छन् । दोस्रो दिन शनिबार लण्डनस्थित नेपाली दूतावास भवनबाट सम्मेलन उद्घाटन र समापन अल्डरसटमा गर्ने तयारी छ ।

सापकोटाका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, कोभिड १९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने छन् ।

कोभिड १९ महामारीको प्रभाव र चुनौती, विदेशमा नेपालीको स्वास्थ्य अवस्था, नेपालमा कोभिड खोप, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने संयोजक सापकोटाले जानकारी दिनुभयो ।सापकोटाले बेलायतवासी नेपालीलाई मध्यनजर गर्दै वाक एण्ड रन कार्यक्रम, अल्डरसटमा हेल्थ स्क्रिनिङ कार्यक्रम राखिएको पनि बताउनुभयो । 

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई एनआरएनए अध्यक्ष कुमार पन्त, लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यारोनेस क्यानेडी, यूके नर्सिङ सोसाइटीकी ट्रेसी बडिङ, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, डा. सुनिल शाह, गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा बोधराज सुवेदी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भएको थियो ।

सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानेडा, जापान, बंगलादेशसहित कयौं देशका हजारौं स्वास्थ्यकर्मी, अनुसन्धानकर्मी, वैज्ञानिक लगायत सहभागी छन् । नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल काउन्सिल अष्ट्रेलिया, नेपलिज डक्टर्स एसोसिएसन यूके, नेपलिज नर्सिङ एसोसिएसन यूके, रोयल कलेज अफ एडिनबरा, यूके नर्सिङ सोसाइटी जस्ता स्वास्थ्य संस्थाहरुको पनि सम्मेलनमा सहभागिता रहेको छ ।


प्रतिक्रिया