अमेरिकाका व्यवसायीलाई नेपालमा लगानी गर्न दूतावासको आह्वान

असार १९, २०७९ | काठमाडौं

 अमेरिकाको न्यूयोर्क स्थित नेपाली महावाणिज्य दुतावासले अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गरेको छ । ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श सँगको सहकार्यमा दूताबासले न्यूयोर्कको म्यानह्याटनमा आयोजना गरेको 'नेपालमा लगानीका अवसरहरु' विषयक अन्तरक्रिया कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्नुभएको हो । 

 'नेपालमा लगानीका अवसरहरू: साझा समृद्धिको लागि मित्रता र व्यवसाय प्रवद्र्धन' विषयमा कार्यपत्र प्रस्तुत गर्दै गौतमले उदार र खुला वैदेशिक लगानी नीति र लगानीका विभिन्न क्षेत्रमा उपलब्ध अवसर, लगानी बोर्ड, नेपालको प्रोजेक्ट बैंक, पूर्वाधार र दिगो विकासमा सहयोग गर्ने अन्य उदीयमान क्षेत्रका प्रमुख आयोजनाहरूका बारेमा जानकारी गराउनुभयो । नेपाल लगानीका लागि सुरक्षित गन्तव्य हुने उहाँको भनाई थियो । 

 नेपालमा आर्थिक वृद्धि र रोजगारी सृजनाका लागि अमेरिकी लगानीकर्ताको लगानी र सहयोगको प्रशंसनीय रहेको उहाँले बताउनुभयो । कार्यक्रममा ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष एवं सीईओ मार्क जाफले नेपालका चेम्बर र कन्सुलेट जनरल तथा न्यूयोर्कमा नेपाली व्यापारी समुदायबीचको साझेदारी विकास हुनुपर्ने विचारव्यक्त गर्नुभयो । उहाँले नेपालसँग व्यापार आदान प्रदान र अन्तरक्रिया प्रवद्र्धन गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा चर्चित व्यवसायी डा. लियोङ यिङले नेपालसँगको आफ्नो वर्तमान संलग्नताको अनुभव स्मरण गर्दै नेपालमा चिकित्सा, पर्यटन, पूर्वाधार परियोजनामा प्रस्तावित लगानीलाई अन्तिम रूप दिने आशा व्यक्त गर्नुभयो ।

त्यस्तै अर्का व्यवसायी जोन मेसरले विश्वका विभिन्न भागमा आफ्नो कम्पनीको उपस्थितिका बारेमा प्रष्ट्याउँदै नेपालमा नवीकरणीय उर्जा, कृषि लगायत हरियाली प्रबद्र्धनका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउनुभयो । सम्भावित लगानीकर्ता, चेम्बरका सदस्य, एनआरएन प्रतिनिधि, नेपाली अमेरिकी व्यवसायी तथा व्यावसायिक समुदायले पनि नेपालमा लगानी प्रवद्र्धनका लागि आफ्नो विचार, सुझाव, भूमिका र योगदानको बारेमा धारणा राख्नुभयो ।

 कार्यक्रममा नेपालको वैदेशिक लगानी नीति, कानुनी र संस्थागत संरचना एवं लगानीलाई प्रोत्साहन गर्न तथा व्यवसाय प्रवद्र्धधन गर्न विदेशी लगानीकर्ताहरूलाई प्रदान गरिएका लगानी र सुविधाका प्रमुख क्षेत्रहरूबारे जानकारी गराइएको थियो । कार्यक्रममा न्यूयोर्कका व्यवसायी समुदायलाई नेपालमा हालको लगानीको वातावरण र अवसरहरू, कानुनी प्रक्रिया एवं प्रोत्साहनका बारेमा विशेष जानकारी गराउनुका साथै डायस्पोराका नेपाली व्यवसायी तथा व्यावसायिक समुदायसँग जोडिने अवसर प्रदान गरिएको थियो ।

 नेपाल अमेरिका कुट्नीतिक सम्बन्धको ७५ औं वार्षिकोत्सवको अवसर पारेर कार्यक्रममा न्युयोर्क र न्यूजर्सी राज्यका व्यवसायीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया