सुझाव संकलनमा सक्रिय सहभागि हुन एमालेको अपिल /१६ बुँदे सहमतिलाई आधार बनाएर सुझाव दिन आग्रह

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७२

साउन ३, काठमाडौं । 

नेकपा एमालेले संविधानको प्रारम्भिक मस्यौदामा भोली र पर्सी हुने जनमत संकलनमा सक्रिय सहभागि हुन सर्वसाधारणमा अपिल गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आज ६ पृष्ठ लामो अपिल सार्वजनिक गर्दै सुझाव संलनमा सहभागि हुन सर्वसाधारणलाई आव्हान गर्नुभएको हो । मस्यौदका कतिपय विषयमा परिमार्जन आवश्यक रहेको बताउदै उहाँले १६ बुँदे सहमतिलाई आधार बनाएर सुझाव दिन आग्रह गर्नुभएको छ ।

अपिलमा भनिएको छ– “संघीय आयोगको व्यवस्था गरेर त्यसको सिफारिसमा सिमाङ्कन टुङ्गो गर्ने र नामाङ्कनको जिम्मा प्रदेशसभालाई दिने प्रबन्ध गरिएको छ । यसलाई यही रुपमा आत्मसाथ गर्न आग्रह गर्दै संविधान निर्माणको समग्र प्रक्रियामा सहभागि हुन पुन: आव्हन गर्दछु ।”

अपिलपत्रमा एमालेले लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढिकरण, संघीयताको सुनिश्चितता, समावेशी शासन प्रणालीको सम्बद्र्धन, समाजवाद उन्मुख राज्यव्यवस्था, दिगो शान्ति, जातीय विभेदको अन्त्य, स्वतन्त्र न्यायपालिका, नागरिकता लगायत विषयलाई मस्यौदाको विशेषताको रुपमा प्रस्तुत गरेको छ ।  

यसैबीच, एमालेले आफ्ना स्थानीय कार्यकर्तालाई भने प्रदेशको संख्या घटाउनुपर्ने, प्रदेश बनाउदा हिमाल, पहाड र तराई जोड्नु पर्ने लगायत सुझाव दिन भनेको स्रोतले जनाएको छ । भोली र पर्सी हुने सुझाव संकलनमा सहभागी हुने पार्टीका कार्यकर्तालाई सोही अनुरुप एमालेले प्रशिक्षित गरेको स्रोतको भनाई छ ।


प्रतिक्रिया