रौतहटबासीको चाहना: मधेस र पहाड अलग नहोस्

रेडियो कान्तिपुर संवाददाता

श्रावण ६, २०७२

  • अनिल बोगटी

साउन ६, रौतहट

संविधानको प्रारम्भिक मस्यौदामा जनमत संकलनका क्रममा तनावको स्थिति झेलेका कतिपय मधेसका जिल्लामा संघीयता, नागरिकता लगायत महत्वपूर्ण बिषयमा आम मानिसको चासो बढि देखिएको छ । तनाव झेलेको मध्येको एक रौतहटका बासिन्दाले भावी संविधानमा मधेस र पहाडलाई अलग नगरी राज्य पुर्नसंरचना गर्न सुझाव दिएका छन् ।

पहिलो पटक संविधानको मस्यौदामा सुझाव दिन पाउंदा पुल्कित बनेका रौतहटबासीका लागि चिन्ता भने संघीयताको छ । उनीहरुमा मधेस र पहाडको विभाजन हुन्छ कि भन्ने डर पलाएको छ । रौतहटको चन्द्रनिगाहापुरमा मजदुरी गर्दै आएका विनोद ठाकुर भन्छन्, सबैको अधिकार हुनुपर्छ, मधेस र पहाड एकै हो । 

जनमत संकलनका क्रममा भएका घटनाले मन खिस्रिक्क पारेका यहाका सर्वसाधारण संविधान आएपछि फेरि तनावको अवस्थामा नहोस् भन्ने कामना गर्छन् । रौतहटका युवक गोपालप्रसाद घिमिरे तराई र पहाड भनेर विभेद हुन नहुने धारणा राख्छन्  । सबैजसो समुदायका मानिसहरुको बसोबास रहेको चन्द्रनिगाहपुरमा संघीयतासंगै नागरिकताको मुद्धामा धेरैको ध्यान गएको छ । मधेसको मुद्धा सम्वोधन गर्दा नागरिकताको बिषयलाई ख्याल गर्नुपर्ने मत भेटिएको छ । स्थानीय केदारप्रसाद तिम्लिसिना नागरिकतामा कडा गर्नुपर्ने सुझाव दिन्छन् ।

राज्य पुर्नसंरचनाको सन्दर्भमा उठेको पहिचानको मुद्धासंग यहाका मानिसहरु पनि राम्रै जानकार छन् । विभेद अन्त्यका लागि समानताको मुद्धा उठेपनि पहिचानको बिषयलाई साम्प्रदायिक बनाउन नहुने धारणा राख्छन् राजनीतिककर्मी धनलाल थोकर । मस्यौदामा जनमत संकलन भएपछि यहांका बासिन्दा तत्काल संविधान ल्याउन दललाई सुझाव मात्र दिदैन, दलका नेतालाई विवेक र आत्मसंयम अपनाउन पनि आग्रह गर्छन् । उनीहरुको साझा धारणा छ..संविधान द्धन्द्ध सिर्जना गर्ने दस्तावेज चाहि नबसोस् ।


प्रतिक्रिया