संकलित सुझावलाई एकीकृत गर्ने काम ७० प्रतिशत सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

श्रावण ६, २०७२

साउन ६, काठमाडौं ।  

संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताबाट प्राप्त सुझावलाई एकीकृत गर्ने काम सुरु गरेको छ । जिल्लामा खटिएका सभासदहरु संकलीत सुझाव लिएर राजधानी फर्कने क्रम सुरु भएसँगै समितिले सुझाव एकीकृत गर्ने काम थालेको हो । समितिले सुझाव संकलनको कार्यबिधि र प्राप्त सुझावलाई दुई खण्डमा बिभाजन गरी प्रतिवेदन लेख्न काम थालेको छ । आज पहिलो दिन काठमाडौं, काभ्रे र कैलालीबाट  प्राप्त सुभावलाई अध्ययनपछि अन्तिम रुप दिईएको समिति सभापति प्रमिला राणाले जानकारी दिनुभयो । भक्तपुरमा प्राप्त सुझाव समेत सम्बन्धित सभासद्ले समितिलाई बुझाएका छन् ।  

हरेक जिल्लामा प्राप्त सुझावलाई एकीकृत गरी २ सय ४० वटै उपसमितिले ७० प्रतिशत काम सम्पन्न गरेको सुझाव समिति अन्तरगतको मस्यौदा उपसमितिका संयोजक प्रेमबहादुर गिरीले जानकारी दिनुभयो । जिल्लागत रुपमा तयार प्रतिवेदनमा थप अध्ययन र बिश्लेषण गरी एकीकृत गरिने र पर्सि शुक्रवारसम्ममा पूर्ण प्रतिवेदन तयार गर्ने संयोजक गिरीको भनाई छ । संविधान सचिवालयमा प्राप्त ३३ हजार १६ वटा सुझावलाई बिषयगत रुपमा एकीकृत गर्ने काम समेत आज रातीसम्ममा सकिने उहाँले बताउनुभयो । उपसमिति संयोजक गिरीकाअनुसार, आगामी सोमवार भित्र नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आफ्नो प्रतिवेदन संविधानसभा बैठकमा प्रस्तुत गर्नेछ ।  

सुझाव संकलनका क्रममा अधिकांशले दलीय अवधारणामा केन्द्रित रहेर राय प्रस्तुत गरेका  छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी, धर्ममा स्वतन्त्रता, प्रदेशको संख्या, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सीमांकनको टुङ्गो लगाएर मात्र संविधान जारी गर्नुपर्ने सुझाव दिएका छन् । संविधानसभाले १५ दिनको समय दिदै भोली बस्ने बैठकमा प्रतिवेदन बुझाउन भनेपनि समितिले सार्वजनीक बिदा र सुझावहरु काठमाडौं आईपुग्न समय लाग्ने भएकाले केही दिनको समय मागेको छ । समितिले सहमति जुटाएका बिषयलाई संविधानसभाले सिधै मस्यौदा समितिमा पठाउने छ भने विवादित बिषय/ सहमतिका लागि संवाद समितिको जिम्मा लगाउनेछ ।

गत २४ गतेदेखि सुरु प्रक्रियामा हिजो र अस्ती मुलुकभर जनताबाट भावी संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन भएको थियो । यता संविधानसभा सचिवालयमा समेत उल्लेख्य रुपमा सुझावहरु प्राप्त भएका छन् । 


प्रतिक्रिया