​दार्चुला र दाङमा सुझाव संकलनमा अवरोध पुर्‍याउने प्रहरी नियन्त्रणमा

रेडियो कान्तिपुर संवाददाता

श्रावण ४, २०७२

साउन ४, दार्चुला/दाङ

 

दार्चुलामा सुझाव संकलन कार्यमा अवरोध पुर्‍याउने प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानको प्रस्तावनामा हिन्दु राष्ट्र उल्लेख गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका हिन्दु राष्ट्रवादी नागरिक समाजका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले समाज आवद्ध राप्ररा नेपाल दार्चुलाका अध्यक्ष बीरसिह बडाल, अखण्ड नेपाल पार्टीका केन्द्रीय सदस्य रघुवीरसिह ठगुन्ना, शिवसेना नेपाल पार्टीका अध्यक्ष रामसिह कार्की लगायत दर्जन बढी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको हाम्रा सहकर्मीले जनाएका छन् ।  कडा सुरक्षाकाबीच सदरमुकाम खलंगामा सुझाव संकलन कार्य भइरहेको छ । 

यस्तै, दाङको तुलसीपुरमा सुझाव संकलनमा अवरोध पुर्‍याउने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरको क्षेत्र नं. ४ मा भएको सुझाव संकलन कार्यक्रममा अवरोध गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । क्षेत्र नं. ५ श्रीगाउँमा सुझाव संकलन स्थलमा नाराबाजी गर्ने माओवादी कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा  चार माओवादी कार्यकर्ता घाइते भएका छन् ।


प्रतिक्रिया