धनुषाका अधिकांश केन्द्रमा मधेशी मोर्चाका नेता कार्यकर्ताको अवरोध /जनकपुरमा ४० बढी घाईते

रेडियो कान्तिपुर संवाददाता

श्रावण ४, २०७२

श्यामसुन्दर शशि

साउन ४, जनकपुर ।

 

संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव लिन धनुषाका सात निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममध्ये अधिकांशमा आज मधेसी मोर्चा सम्बद्ध नेता कार्यकर्ताले अवरोध पुर्‍याएका छन् । तीन स्थानमा हवाई फायर र सातै स्थानमा प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट जनकपुरमा चालिस भन्दा बढी घाइते भएका छन् । 

धनुषा क्षेत्रनम्बर ४ को जनकपुर उद्योग वाणिज्य संघ, क्षेत्रनम्बर २ को औरही तथा क्षेत्रनम्बर ५ को ठेरामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । तीनै केन्द्रमा प्रहरीले लाठी चार्ज तथा अश्रुग्यास प्रहार गरेको थियो । क्षेत्रनम्बर १, ३, ६ र ७ मा प्रदर्शनकारीले सुझाव संकलन कार्यमा अवरोध पुर्‍याएको सहकर्मी श्यामसुन्दर शशीले जनाएका छन् । ती केन्द्रमा समेत प्रहरीले वल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको थियो । 

प्रहरीसँगको झडपमा गंभिर घाईते भएका मोर्चा आवद्ध नेता सुशील कर्ण र नेकपा माओवादीका केन्द्रिय सदस्य रोशन जनकपुरी गंभिर घाईते भएका छन् । कर्णलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने अन्य सवै घाईतेको जनकपुर अञ्चल अस्पतामा उपचार भईरहेको छ । यद्यपि प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले क्षेत्रनम्बर ४ बाहेकका केन्द्रहरुमा सुझाव संकलन भएको दावी गर्नुभयो । 

सुझाव संकलन गर्ने क्रममा पर्साको क्षेत्र नं २ स्थित जिबिस केन्द्र र क्षेत्र नं ४ को पोखरियामा तनाव भएको छ । ती केन्द्रमा असन्तुष्ट समूहले नाराबाजीसंगै मस्यौदा जलाउने तथा पाल भत्काउने गरेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले क्षेत्र नम्बर ४ मा १७ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । क्षेत्र नं ३ को बहुअरीपिडरी र क्षेत्र नं १ को वीरगंज आदर्शनगरस्थित तेरापन्थ भवन केन्द्रमा पनि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया