महेन्द्रनगर डायरी

श्रावण २१, २०७३ | महेन्द्रनगर

महेन्द्रनगर डायरीमा चित्रांग थापाको नमस्कार

सिकलसेलको समस्या

थारु समुदायमा वंश विनास हुनेगरि फैलिएको सिकलसेल एनिमिया रोकथामका लागि सरकार गम्भिर नभएको थारु समुदायका अगुवाहरुले आरोप लगाएका छन् । तेस्रो राष्ट्रिय सिकलसेल जागरण दिवसका अवसरमा धनगढीमा हिजो आयोजित कार्यक्रममा अधिकांस थारु अगुवा र नागरिक अगुवाहरुले सरकारले पश्चिम तराइका थारु समुदायमा फैलिएको वंशानुगत रोगका विषयमा कुनै चासो नराखेको आरोप लगाएका हुन् । थारु कल्याणकारी सभाका सचिव माधव चौधरीले सरकारले अहिले सम्म यो वंशानुगत रोगका बिषयमा कुनै चासो नराखेको आरोप लगाउनुभयो । उहाँले सो रोगको भरपर्दो परिक्षणको ब्यवस्था र प्रभावकारी उपचार हुन ससकेको बताउनु भयो । धनगढीको सेती अञ्चल अस्पतालमा अहिले सम्म २ सय बढी बिरामीले उपचार गराइरहेका छन् । पश्चिम तराइको थारुबहुल क्षेत्रमा थारु समुदायका हजारौं जनसंख्या यो रोगवाट प्रभावित रहेको छ ।

हत्याका घटना बढे

कञ्चनपुरमा पछिल्लो समय हत्याका घटना बृद्धि हुन थालेको छ । अपराधका घटनामा बृद्धि हुने क्रम संगै प्रहरीले अनुसन्धानमा लापरवाही र ढिलासुस्ती गरेको भन्देै पिडित पक्षबाट दिनहुँजसो बिरोधका कार्यक्रम पनि आयोजना हुने गरेका छन् ।  ६ महिनाको अवधीमा मात्रै जिल्लाको बिभिन्न भेगमा ९ वटा हत्याका घटना भएका छन् । यसैबीच  कञ्चनपुर प्रहरी प्रमुख एसपी तुलसी प्रसाद अधिकारीले प्रहरीले सवै घटनाको निष्पक्ष ढंगले छानविन गरिरहेको दावी गर्दै प्रहरी बिरुद्धको आरोप सत्य नभएको बताउनु भएको छ ।

महिलाको सक्रिय सहभागिता

महाकाली र जोगबुढा नदीको बाढीले प्रभावित दोधारा र चाँदनीका महिलाहरु यतिवेला बाढीको जोखिम न्युनिकरणका कार्यक्रममा सक्रिय रुपमा सहभागी भएका छन् । जोगबुढा नदी किनारमा रहेका बस्तीमा बाढीको पूर्व सुचना प्रणाली देखि बाढीका बखत जोखिममा पर्नेहरुको उद्धार र प्राथमिक स्वास्थ्यका क्षेत्रमा महिलाहरुको सहभागिता पुरुष भन्दा बढी रहेको छ । पुरुषहरु कामको खोजीमा भारत तिर जाने गरेकाले हालका बर्षमा स्थानिय स्तरका सामाजिक गतिविधिमा महिलाहरुको सहभागिता बढदै गएको हो ।

बजार क्षेत्रको सफाई शुरु

कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयले केहिदिन देखि महेन्द्रनगर बजारक्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको छ । बजार क्षेत्रमा रहेको फोहर मैला सम्वन्धित घरधनीले थुपार्ने र नगरपालिकाको फोहोर ओसार्ने ट्रक र ट्र्याक्टरले उठाएर लैजाने अभियान सुरु भएपछि बजारक्षेत्र सफा हुन थालेको छ ।  नगरपालिका मात्र नभइ यो सफाइ अभियानमा यहाका संघ संस्थाहरुको पनि सक्रिय सहभागिता रहेको छ । नगरपालिकाको सफाइ अभियानमा सामुदायीक सेवा केन्द्र, हेल्प नेपाल लगायतका संस्था संग आवद्ध युवाहरुको सहभागिता छ ।

हवस त कञ्चनपुर डायरी आजलाइ यत्ति नै,  चित्रांग थापालाइ बिदा दिनुशोस् नमस्कार ।

 


प्रतिक्रिया