महेन्द्रनगर डायरी

आश्विन १७, २०७३ | महेन्द्रनगर

महेन्द्रनगर डायरीमा चित्रांग थापाको नमस्कार

दशैं नजिकिदै जाँदा कामको खोजीमा भारत तिर गएका कामदारहरु धमाधम घर फर्कन थालेका छन् । सुदुर र मध्य पश्चिमका बिभिन्न ठाँउबाट भारतको उत्तराखण्ड, हिमाञ्चल लगायत पहाड र अन्य शहरतिर रोजगारीका लागि गएकाहरु कञ्चनपुरको सिमानाका गड्डाचौकी हुदै दशैं मान्न घर फर्कन लागेका हुन् । चाडपर्व मनाउन घर फर्किरहेका अधिकांस कामदारहरु असार तिर धान रोपाइ सकेर मौसमी कामका लागि भारत तर्फ पसेका हुन । उनीहरु बर्षेनी खेतिपातीको काम सकेर रोजगारीका लागि भारत जाने र चाड पर्वका बखत घर फर्कने गरेका छन् । सुदुरका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, बैतडी, दार्चुला र डडेलधुरा संगै मध्यपश्चिमका सुर्खेत, दैलेख, कालिकोट देखि प्युठान र दांग तर्फ जाने यात्रुहरुको महेन्द्रनगर बसपार्कमा केहिदिन यता भिडभाड बढेको छ ।

सुदुरपश्चिमका पर्यटन व्यवसायीहरुले सिमावर्ती भारतीय शहरका ट्राभल एजेन्सी र टुुर अप्रेटरहरु संगको सहकार्यमा कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफण्टा नाका भएर भारतीय पर्यटकलाई नेपाल भित्र्याउने अभियान सुरु गरेका छन् । नेपाल पर्यटन बोर्डको तत्वावधानमा सुदुरपश्चिम टुर एण्ड ट्राभल एसोसियसन लगायतका पर्यटन व्यवसायसंग सम्वन्धित संस्थाका प्रतिनिधिहरु भारत उत्तराखण्ड राज्यको रुद्रपुर, नैनिताल, देहरादुन संग दिल्लि सम्मको भ्रमण गरेर पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने पहल गरेका हुन् ।    

केहिदिन यता भारत र पाकिस्तान बिच उत्पन्न तनावका कारण कञ्चनपुरको सिमानाकामा तैनाथ भारतिय सुरक्षाकर्मीले चेकजाच अत्यन्त कडा तुल्ल्याएका छन् । भारतको सिमावर्ती शहर बनवासाबाट गड्डाचोैकी सम्मको ६ किलोमिटर दुरी पार गर्दा  ५/६ ठाँउमा उत्तराखण्ड पुलिस, भारतको भन्सार कार्यालय र अद्र्ध सैनिक वल एसएसविले कडा जाँच गर्न थालेको हो । सिमामा हुने चेकका क्रममा नेपाली कामदारहरुको झिटिगुण्टा खोलेर सामान हेर्ने वहानामा भारतीय भन्सारकर्मीले जवर्जस्ती रकम असुली समेत गर्न थालेको यात्रुहरुले बताएका छन् । कामदारहरु संग रकम माग्ने नदिएमा गाली गलौज र दुव्र्यवहार गर्ने गरेको पिडितहरु बताउँछन् ।

किसानहरु खेतमा धानवाली पहेलपुर भएर भित्र्याउन तयार भइरहेका बेला कञ्चनपुरका बिभिन्न ठाँउमा हात्तीको झुण्ड पसेर धानवाली स्वाहा गर्न थालेको छ । ३०/३५ को संख्यामा आउने हात्तीको झुण्डले साता अघि कञ्चनपुरको दक्षिणी भेगमा पर्ने पुनर्वास क्षेत्रमा धानवाली स्वाहा पारेको थियो । केहिदिन यता शुक्ला फाटा आरक्षसंग जोडिएको भीमदत्त नगरपालिकाको पिपरैया नयाँ कटान लगायतका बस्तीको धान स्वाहा पारेको पिडित किसानहरुले बताएका हुन् । ३ दिन अघि नयाँ कटान क्षेत्रमा हात्तीको बथान गाँउमा पसेर धानवाली सखाप पार्न थालेपछि हात्ती धपाउन सेना र सशस्त्र प्रहरीको सहयोग लिनु परेको शुक्ला फाटा आरक्ष मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष पुश्कर बहादुर सिंहले बताउनु भयो ।

हवस् त महेन्द्रनगर डायरीमा आजलाइ यत्ति नै चित्रांग थापालाइ बिदा दिनुहोस् , नमस्कार

 


प्रतिक्रिया