गोरखा डायरी

कार्तिक १७, २०७३ | गोरखा

गोरखा डायरीमा सुदीप कैनीको नमस्कार

भूकम्प पीडितको नाममा अर्बाैं रुपैंया खर्च भएपनि निजि घर पुनर्निर्माणको कामले तिव्रता पाउन सकेको छैन । जिल्लामा हाल सम्म भूकम्पले क्षति पूर्‍याएका मध्ये ७ सय १ घर मात्रै पुनर्निर्माण भएको गाउँमा खटिएका इन्जिनियरहरुले बताएका छन् । जिल्ला स्थित आयोजना कार्यान्वयन इकाईका अनुसार ४ सय २३ घर निर्माण सुरु गर्ने प्रक्रियामा छन् भने २ सय ४६ घरले पहिलो किस्ताको ५० हजार खर्च गरेर दोस्रो किस्ताका लागि सिफारिश माग गरेको इन्जिनियर सुजन श्रेष्ठले बताउनुभयो । जिल्लाभर ५८ हजार घर पुनर्निर्माण गर्नुपर्ने तथ्याङ्क छ ।

भूकम्पपछि जिल्ला भित्रिएका राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संघसंस्थाले १ वर्षमा जिल्लामा ४ अर्ब ७ करोड ५४ लाख भन्दा बढी रकम खर्च गरेको तथ्याङ्क भेटिएको छ । गत आर्थिक वर्षमा सो रकम खर्च भएको जिल्ला विकास समितिले जनाएको छ । एनजिओ आईएनजिओहरुले जिविसमा बुझाएको प्रतिवेदनको आधारमा खर्च वितरण तयार भएको हो । जिल्लामा कार्यरत गैर सरकारी संघसंस्थाले बजेट (आम्दानी, खर्च) सार्वजनिक गरेका थिएनन् । चौतर्फी दबाव पछि जिविसको बार्षिक समिक्षा गोष्ठीमा बजेट सहितको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

आगामी पौष ८ देखि १६ गते सम्म ९ दिन नवौं गोरखा महोत्सव तथा पश्चिमाञ्चल क्षेत्रिय कृषि, पर्यटन तथा व्यापार मेला हुने भएको छ । गोरखा उद्योग बाणीज्य संघको आयोजनामा हुने महोत्सवको तयारी सुरु भएको अध्यक्ष श्रवणकुमार जोशीले जानकारी दिनुभयो । सदरमुकाम स्थित हरमटारी रंगशालामा हुने महोत्सवमा ४९ लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन, भूकम्प पछिको पुनर्निर्माण, सांस्कृतिक भेषभुषा, खानपानको चिनारी, कृषिजन्य, घरेलु उद्योग, जडिबुटी र फलफूलको चिनारी गराउने मुख्य उद्धेश्यले महोत्सव आयोजना गरिएको हो ।

निर्माण व्यवसायीहरुले ठेक्का लिएको काम समयमा नगर्दा विकास निर्माणमा ढिलाई हुने गरेको छ । सांसद बहादुरसिंह लामा प्रोपाईटर रहेको ठेकेदार कम्पनीले नै स्वीकृत भएको ठेक्काको काम तोकिएको समयमा नगरेको जिविसले जनाएको छ । नारेश्वर पडेनी चौतारा सडक खण्डको स्तरोन्नितको काममा ढिलाई भएको हो । तीन पटक सम्म म्याद थप गर्दा समेत काम सुरु हुन नसकेको स्थानिय विकास अधिकारी नारायण आचार्यले बताउनुभयो । 

हवस् त गोरखा डायरी आजलाई यति नै सुदिप कैनीलाई विदा दिनुहोस् नमस्कार

 


प्रतिक्रिया