महेन्द्रनगर डायरी

पुस ७, २०७३ | महेन्द्रनगर

अञ्चल अस्पतालमा बिशेषज्ञ डाक्टरको अभाव

महाकाली अञ्चल अस्पतालमा दरबन्दी अनुसारका बिशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि आउने बिरामी समस्यामा परेका छन् । २७ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा हाल ३ जना दरबन्दीका ८ जना करार र समितिका गरी जम्मा ११ जना मात्र कार्यरत छन । हाड जोर्नी, रेडियोलजी र बालरोग तर्फका बिशेषज्ञ डाक्टर कार्यरत भएपनि आवश्यक उपकरणको अभावले उपचारसेवा प्रभावित भएको छ । अस्पतालमा ३ बर्ष देखि अस्पतालमा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टर छैनन् । फिजिसियन दरवन्दीका डाक्टर र एनेस्थेशिया नहुँदा आइसियु सञ्चालनमा समस्या भएको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर श्रीकृष्ण भट्टले बताउनुभयो । उहाँका अनुसार दरबन्दी अनुसारका डाक्टरको व्यवस्था गरिदिन मन्त्रालय र विभागलाइ ताकेता गरेपनि डाक्टरहरु खटाइएको छैन । 

 

साक्षरता कार्यक्रमबाट स्थानीय लाभान्वित

कञ्चनपुरमा सञ्चालन भएको १५ महिने व्यावसायीक साक्षरता कार्यक्रमबाट जिल्लाका ७८ पुरुष सहित ३३ सय महिला लाभान्वित भएका छन । व्यावसायीक साक्षरता कार्यक्रमबाट सामान्य लेखपढ सिकेर दैनिकी चलाउन सक्ने अवस्थामा पुगेका हुन । गतबर्ष भदौमा सुरु भएको कार्यक्रम यही पुस १५ मा समापन हुँदैछ । युएसएडको सहयोगमा गैरसरकारी संस्था विप्रोक्स नेपालले सो कार्यक्रम २०१४ फेव्रुअरी देखि नेपालका बिभिन्न जिल्लामा चरणबद्ध रुपमा सुरु गरेको हो । विप्रोक्स नेपाल कञ्चनपुरका संयोजक राजेन्द्र पोडेलका अनुसार सुरुमा सो कार्यक्रम मध्यमाञ्चलका १० जिल्लामा सुरु भएको हो ।  

हात्ती पीडितलाई राहत

असोज अन्तिम साता हात्ती आक्रमणबाट मृत्यु भएकी कञ्चनपुर बेलौरी नगरपालिका १५ रामघाटकी सुन्दरी चौधरीका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला वन कार्यालयले एक कार्यक्रमको आयोजना गरि मृतकका श्रीमान आसाराम चौधरीलाई राहत वितरण गरेको हो । जिल्ला वन अधिकृत शिव प्रसाद शर्माले क्षेत्रिय वन निर्देशनालय धनगढीबाट प्राप्त भएको ५ लाखको चेक मृतकका श्रीमानलार्ई हस्तान्तरण गर्नुभएको हो । असोज २९ मा रामघाट मुक्त कमैया शिविरबाट देखतभुलीको चान्देउतिर श्रीमान संगै साइकलमा आउने क्रममा हात्तीको आक्रमणबाट ३५ वर्षिया सुन्दरीको घट्नास्थलमै मृत्यु भएको थियो । 

भारतीय नोटबन्दीको सिमावर्ती बजारमा प्रभाव

भारतमा गरिएको नोटबन्दीका कारण नेपालका सिमावर्ती बजार संगै रोजगारीका लागि भारत जाने कामदारहरु पनि समस्यामा परेका छन । महेन्द्रनगर संगै कञ्चनपुरको सिमाबजार ब्रम्हदेव, बेलौरी र दोधारामा भारतीय ग्राहक किनमेलका लागि आउने क्रम घटेको व्यापारी बताउ“छन । नेपाली कामदारहरुले कमाइ गरि पठाएको रकम समेत सटही गर्न नपाउदा सुदुरपश्चिमका बिभिन्न पहाडी जिल्लाका बासिन्दा समेत समस्यामा परेका छन ।


प्रतिक्रिया