कञ्चनपुर डायरी

माघ १८, २०७३ | कञ्चनपुर

सुदुरपश्चिमका सिमावर्ती भारतीय शहरहरुमा केहिदिन यता चुनावी चहल पहल बढेको छ । खासगरि दार्चुला देखि कञ्चनपुर र कैलालीसंग सीमा जोडिएका भारतको उत्तराखण्ड र उत्तरप्रदेश राज्यमा हुन लागेको विधानसभा निर्वाचनका कारण सिमावर्ती भारतीय शहरमा चुनावी माहौल तातेको हो । सिमावर्ती राज्यको चुनावको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै पर्सि विहिवार देखि उत्तराखण्डको सिमा ४८ घण्टाका लागि सिल गरिने भएको छ । उत्तराखण्डमा एकैपटक शनिवार निर्वाचन हुँदैछ । सीमाक्षेत्रको सुरक्षाका बिषयमा नेपाल र भारतका सुरक्षा र प्रशासनिक अधिकारी बीच बिभिन्न चरणमा बैठक सम्पन्न भएको कञ्चनपुरका प्रहरी प्रमुख एसपि प्रकाश चन्दले जानकारी दिनु भयो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ मा पर्ने बालुवाफाटाको  थारु बस्ती हालका बर्षमा तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । यहाँका अधिकांस थारु समुदायका किसानहरु केहिबर्ष अघि सम्म परम्परागत खेति गरेरै गुजारा गरिरहेका थिए । उनीहरुलाई व्यवसायीक र आधुनिक तरकारी खेतीको ज्ञानै थिएन । ३ बर्ष अघि उनीहरु यसएसएड द्वारा सञ्चालित किसान परियोजनामा आवद्ध भएपछि पुरै बस्तीमा तरकारी खेती प्रमुख व्यवसाय भएको छ । तरकारी खेतीका लागि सिंचाइको समस्या देखा परेपछि उनीहरुले खेत मै सोलार जडान गरि बाह्रै महिना सिंचाइ सुविधाको व्यवस्था गरेका छन् । 

सुदूरपश्चिम क्षेत्रमा हालसम्म जटिल रोगका बिरामीहरुको उपचारका लागि आवश्यक पर्ने आइसियु सुविधा कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा मात्र छ । त्यो पनि ४ बेड मात्र । करिव २६ लाख जनसंख्या रहेको सुदुरपश्चिमवासीले बर्षौदेखि बिशेषज्ञ डाक्टर, अत्यावश्यक उपकरण संगै सघन उपचार कक्षको अभावमा उपचारका लागि भारतीय शहर  र नेपालगञ्ज तथा काठमाण्डौ धाउनु पर्ने पिडा व्यहोदै आएका छन् । महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण भट्टका अनुसार बिशेषज्ञ डाक्टर नभएर महाकाली अञ्चल अस्पतालमा पुर्वाधार भएर पनि सघन उपचार कक्ष सञ्चालन गर्न सकिएको छैन । 

कञ्चनपुर उद्योग बाणिज्य संघले यसबर्ष भारत उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा औद्योगिक तथा व्यापार मेला आयोजना गर्ने भएको छ र आउँदो फागुन २२ देखि सञ्चालन हुने मेलाको तयारी भइरहेको उद्योग बणिज्य संघका कार्यकारी प्मुख प्रेमसिंह भाटले जानकारी दिनुभयो । उहाँका अनुसार मेला आयोजना हुने ठाँउ त्यहाँको राज्य सरकारले निशुल्क उपलव्ध गराउने भएको छ । मेलामा स्थानिय उत्पादन संगै नेपालमा उत्पादन भएका निर्यातजन्य बस्तु प्रदर्शन गरिने छ । 

 


प्रतिक्रिया