गोरखा डायरी

श्रावण २१, २०७४ | गोरखा

 

२४ घण्टा बिरामी बोक्न तम्तयार हुनु पर्ने एम्बुलेन्स जथाभावी संचालन हुन थालेको छ । एम्बुलेन्सको दुरुपयोग भएको भन्दै जिल्ला एम्बुलेन्स व्यवस्थापन तथा अनुगमन समितिले आचार संहिता जारी गरेको छ । रातको समयमा जिल्ला बाहिर उपचार गराउन जानु परेमा समयमै एम्बुलेन्स नपाउने जनगुनासो बढेपछि अनुगमन समितिले एकद्धार प्रणालीबाट संचालन गर्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताउनुभयो ।

गृहिणी महिलाहरुको सुरु गरेको ढाका बुनाई उद्योग फस्टाउँदै गएपछि सदरमुकाम स्थित पुरानो बजार रहेको ठुलो अाँगन क्षेत्रमै चहलपहल बढेको छ । २०६७ सालमा महिलाहरुले तालिम लिएर सुरु गरेको उद्योग फस्टाएर त्यस क्षेत्रमा घरै पिच्छे जस्तो ढाका उद्योग र पसलहरु खुल्न थालेका छन् । घरमै बसिबसि महिलाहरुले ढाकाका सामाग्री बुनेर बिक्रि वितरण गरी आम्दानी गरेको स्थानिय रुपा गुरुङले बताए । 

भूकम्प प्रभावित जिल्लाका निर्वाचित जनप्रतिनिधिहरुले अस्थायी टहरोमा बास बसेर अस्थायी टहरोबाटै कार्यालय संचालन गरेका छन् । निजी घरहरु निर्माणमा ढिलाई भएका कारण जनप्रतिनिधिहरुले समेत आफनो घर बनाउन नसकेका हुन् । जिल्लाका ९ वटै गाउँपालिकाको कार्यालय अस्थायी टहरोमा संचालित छ । गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहित सदस्यहरुको बसोबास पनि टहरोमै छ ।

जिल्लामा प्लाष्टिकको टनेल भित्र व्यवसायिक बेमौसमी तरकारी खेत गर्ने किसानको संख्या बढदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बेमौसमी तरकारीले बजार भाउ राम्रो पाउने हँुदा किसानहरु टनेल भित्र तरकारी फलाउन आर्कषित हुन थालेको जिल्ला कृषि विकास अधिकृत यमकुमार श्रेष्ठले बताउनुभयो ।

 


प्रतिक्रिया