ललितपुर डायरी

पुस २४, २०७४ | काठमाडौं

 -  नेवा: पत्रकार राष्ट्रिय दबूले पाटनमा मुलुकभर रहेका मातृ भाषाबाट प्रकाशित हुने पत्रपत्रिकाको महोत्सव आयोजना गरेको छ । स्टलमा नेपाल भाषा, तामाङ, वाम्बुले राई, लिम्बु, तमू, वान्तवा भाषाबाट प्रकाशित हुने पत्रपत्रिकाको प्रर्दशनीमा राखिएको थियो ।

मिडिया महोत्सवका सहसंयोजक राजेश बज्रचार्यले महोत्सवले मातृ भाषाबाट प्रकाशित हुने पत्रपत्रिका उत्थानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवले स्थानीय सरकारलाई भाषिक पत्रिकाको बारेमा ध्यानार्कषण गराइएको उहाँले बताउनुभयो । कार्यक्रममा २००९ मा प्रकाशित ‘कलाकार’ नामक पत्रिकाका सम्पादक संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको थियो । मातृ भाषाको संरक्षण गर्ने एउटा गतिलो माध्यम पत्रपत्रिका भएको बताउदै संस्कृति विद जोशीले अब यसको प्रवद्र्धन गर्ने दायित्व स्थानीय सरकारमा आएको बताउनुभयो ।

ग्वार्कोस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत नर्स लगायत कर्मचारीले कलेज व्यवस्थापनले आफ्नो माग सुनुवाई नगरको अस्पतालको सेवा ठप्प पार्दै आएको छ । अस्पताल ठप्प हुँदा बिरामीको उपचार, कलेजमा अध्ययरत एमबीबीएस पाँचौं र बीडीएस चौंथो वर्षमा अध्ययरत विद्यार्थीको प्रयोगात्मक परीक्षा पनि प्रभावित भएको छ । उपचार गराउन आउने बिरामी त्यसै फर्कन बाध्य छन् । कर्मचारीले अस्पतालको विनियमावली श्रम ऐन अनुसार हुनुपर्ने, तलबभत्ता समयनुकूल वृद्धि, औषधोपचार र जोखिम भत्ता नपाएको लगायत १५ बुँदे माग राखेर आन्दोलन गरेका हुन् । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ किस्ट अस्पतालका अध्यक्ष रूपेश केसीले अस्पताल प्रशासनले पटक–पटक माग पूरा गरिदिने आश्वासन दिए पनि कार्यान्वयन नगरेको भन्दै आक्रोस पोखे । अस्पतालका वरिष्ठ प्रशासक अक्षयप्रसाद गौतमले सरकारले विद्यार्थी भर्ना सिट र शुल्क सीमित गरिदिँदा आम्दानी कम भएकाले माग पुरा गरिदिन नसकेको बताउनुभयो । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएले) द्वारा सञ्चालित ट्याकरले बिना फिल्टरको खानेपानी बिक्री गर्ने गरेको पाइएको छ । काठमाडांै उपत्यका खानेपानी व्यवस्थापन बोर्डले नीलो रङको स्टिकर केयूकेएलद्धारा सञ्चालित १३ वटा ट्यांकरलाई वितरण गरेको छ । पानीको वर्गीकरणको आधारमा नीलो रङको स्टिकर पाएका ट्यांकरले सिधै पिउन योग्न पानी बिक्री गर्न पाइने कानूनी प्रावधान छ । तर केयूकेएलको ट्यांकरले बोक्ने सैबुस्थित कलेक्सन चेम्बरमा पानी फिल्टर गर्ने गरेको छैन । सैबुस्थित चम्बरमा बुङगमती फर्सिडोलस्थित दिप बोरिङ गरी निकालिएको पानी, फर्पिङ मूलडोलबाट ल्याइएको पानी जम्मा हुने गर्छ । 

जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ललितपूर महानगरपालिका–८ स्थित विपद् व्यवस्थापन पार्क (गुइट दोमार) निर्माण सुरु भएको छ । पार्क निर्माणमा जाइकाले प्राविधिक सहयोग गर्ने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र जाइका नेपालका प्रमुख जुन साकुमाले संयुक्त रुपमा पार्कको शिलान्यास गर्नुभयो । पार्क निर्माणको मूख्य उद्धेश्य उद्धार कार्यमा सहयोग पुर्‍याई विपद व्यवस्थापन सुविधाको उपयोग गर्नु रहेको जाइकाले जनाएको छ । जाइकाका अनुसार पार्कसँगै विपद व्यवस्थापन केन्द्रको दुई तले भवन, एउटा खुला मञ्च, बीस वटा शौचालय, तीन वटा शौचालय ट्यांकी, ८० हजार लिटर र १५ सय लिटरको पानी ट्यांकी निर्माण गरिनेछ । 


प्रतिक्रिया