झापा डायरी

पुस ७, २०७६ | झापा

१) झापामा ६ दिन यता बढेको चिसोले जनजीवन प्रभावित बनेको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चल्ने गरेकाले जिल्लाबासीको दैनिक जनजीवन प्रभावित बनेको हो । सर्वसाधारणको हिँड्डुल कम भएकोले सडकमा यातायातका साधन पनि कम मात्र चल्ने गरेका छन् । भिजिविलिटी नपुगेकाले आइतबार चन्द्रगढी विमानस्थलका सबै उडान रद्द गर्नु परेको नागरिक उड्डयन कार्यालय चन्द्रगढीका प्रमुख पूर्णकुमार चुडालले बताउनुभयो । विमान उडानका लागि २२ सय भिजिविलिटी आवश्यक रहेकोमा आइतबार ५ सय मात्र रहेको चुडालले बताउनुभयो । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले सबै इलाका प्रहरी कार्यालयलाई सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरेर सर्वसाधारणका लागि सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । चिसोका कारण आइतबारदेखि जिल्लाको भद्रपुर, अर्जुनधारा, कमल, दमक लगायतका पालिकाहरुले सामुदायिक विद्यालयहरु बिदा समेत दिएका छन् ।

२) विद्यालय नियमति आउन प्रेरित गर्ने उद्देश्यले झापा गाउँपालिकाले छात्राहरुलाई नि:शुल्क साइकल वितरण गरेको छ । टाढाबाट विद्यालय आउने तथा कक्षा १२ सम्मको पढाई पूरा गर्ने सर्तमा छात्राहरुलाई साइकल वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । उक्त गाउँपालिकामा आदिवासी राजवंशी र मुस्लिम समुदायको बसोबास बाक्लो रहेको छ । विभिन्न चरणमा गरी हालसम्म १ सय ३८ जना छात्रालाई साइकल वितरण गरिसकेको अध्यक्ष साहले जानकारी दिनुभयो । गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गरेर चालू आर्थिक वर्ष २ सय ३५ जना छात्रालाई साइकल वितरण गर्ने कार्यक्रम तय गरेको उहाँले बताउनुभयो । हालसम्म कक्षा ९ मा अध्ययनरत जनकल्याण माविका २०, कुवाडीदेवी माविका ३३ र जनता माविका ८५ जना छात्रालाई साइकल वितरण गरिसकिएको छ ।

३) सिमावर्ती गाउँ बाह्रदगी गाउँपालिका १ भागुडुब्बामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सीमा क्षेत्रमा बीओपी स्थापना गरेको हो । सुरक्षा नभएकै कारण वर्षौदेखि नेपाली बस्तीका स्थानीय पीडित बनेको गुनासो आएपछि भागुडुब्बामा बीओपी स्थापना गरिएको हो । स्थानीयका तर्फबाट सुशीला राजवंशीले बीओपीका लागि पाँच कट्ठा जमिन नि:शुल्क उपलब्ध गराएकी थिइन् । थप तीन कट्ठा जमिन खरिद गरेर प्रदेश सरकारले एक करोड ६१ लाख ७९ हजार ९२९ रुपैयाँको लागतमा भौतिक संरचना निर्माण गरी बीओपी स्थापना गरेको हो ।

४) पूर्वी नाका काँकडभिट्टामा भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ । अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताउनुभयो । मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजश्व गस्ती टोलीको संयुक्त पहलमा आइतबार पार्किङ गरेर राखिएका ५० वटा भारतीय गाडीलाई हटाएर पार्किङ निषेध गरिएको थियो । भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडी पार्किङ हुँदै आएका थिए । यसअघि सुविधा तिरेर बस्दै आएका भारतीय नम्बर प्लेटका गाडीले यात्रु झार्ने बित्तिकै नाकाबाटै फर्किनुपर्ने र अटेर गरेमा कारबाही गरिने डीएसपी कार्कीले बताउनुभयो । 


प्रतिक्रिया