तेह्रथुम डायरी

कार्तिक १४, २०७७ | तेह्थुम

तेह्थुमको छथर गाउँपालिकाले जिल्लामै पहिलो पटक एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । गाउँपालिकाले एकल पुरुषको तथ्याङ्क संकलन गरी वार्षिक रुपमा एकमुष्ट पाँच हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन थालेको हो । एकल पुरुषका लागि केन्द्र सरकारले कुनै पनि राहतमुखी कार्यक्रम ल्याउन नसकिरहेको बेला आफूहरुले एकल पुरुषलाई राहत पुग्ने गरी नेपालमै पहिलो पटक यस्तो कार्यक्रम लागू गरेको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुको दाबी छ ।

आगामी २ वर्ष भित्रमा जिल्लालाई फुुसको छानो मुक्त जिल्ला बनाउने अभियान सुरु भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छानो भएका सबै घरमा जस्ता पाताको छानो लगाउने कार्यक्रम सुरु गरिएको तेह्रथुमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य भवानी प्रसाद खापुङले जानकारी दिनुभयो । जिल्लामा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाद्वारा कार्यक्रम कार्यान्वयन हुनेछ । कार्यक्रम अन्तर्गत जस्ता पाता र सहुलियत दरमा काठ खरिद गर्न प्रत्येक घरधुरीलाई ५० हजार रुपैयाँका दरले नगद उपलब्ध गराईने प्रतिनिधिसभा सदस्य खापुङले बताउनुभयो ।

जिल्लाभरका किसानले विभिन्न समस्याका कारण चिया खेतीलाई सम्हाल्नै नसक्ने अवस्था आएको गुनासो गरेका छन् । उत्पादनमा गिरावट, हरियो पत्तिको बिक्री मूल्य नहुनु, मजदुर अभाव, रोगव्याधी बढ्नु, युवा पुस्ताको आकर्षण नहुनुु जस्ता कारणले चिया खेतीमा टिकीरहन समस्या भएको किसानको भनाई छ । स्थानीय सरकारले समेत चिया खेतीका लागि सहयोग नगरेपछि व्यवसायिक चिया खेतीमा लागेका हजारौं किसान समस्यामा परेको सिंहदेवी चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष टेक बहादुर केप्छाकीले बताउनुभयो । स्थानीय तहले कृषि क्षेत्रका लागि विनियोजन गरेको बजेट एक पैसा पनि चिया खेतीका लागि नदिएको किसानहरुको गुनासो छ । जिल्लामा ३ हजार ८ सय २५ रोपनी क्षेत्रफल जमिनमा चिया र कफी खेती हुने गरेको छ ।

जिल्लामा क्रियासिल दलित सचेतना समाज नेपाल (ड्यास) ले लालीगुराँस नगरपालिकाका ५० जना सुत्केरी तथा गर्भवती सहित १ सय ३० परिवारलाई स्वास्थ्य र खाद्यान्न सामाग्री वितरण गरेको छ । ५० सुत्केरी तथा गर्भवती महिला, ७० दलित र अन्य समुदायका १० जना विपन्न परिवारका महिलालाई स्वास्थ्य र खाद्यान्न सामग्री वितरण गरिएको ड्यासका अध्यक्ष अनुभूतिबम नेपालीले बताउनुभयो । गर्भवती र सुत्केरीलाई पोषण युक्त खाना र उचित स्वास्थ्य स्याहारको जरुरी हुने भएकाले उनीहरुका घर आँगनमै पुगेर सहयोग गरिएको ड्यासले जनाएको छ ।

फेदाप गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ । भवनको प्रदेश संसाद तेजमान कन्दवाले एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभयो । ६ रोपनी क्षेत्रफल जमिनमा निर्माण सुरु भएको भवन केन्द्र सरकार र फेदाप गाउँपालिकाको १० करोड रुपैयाँ लागतमा निर्माण हुने गाउँपालिकाका अध्यक्ष हरि प्रसाद चोङबाङले बताउनुभयो ।

ग्रामीण क्षेत्रका किसानले लगाएको खाद्यान्न बाली बाँदरले खाएर नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन् । समूहमा आउने बाँदरले पाकेर भित्र्याउने बेला भएको खाद्यान्न बाली खाईदिएर दुख दिएको लालीगुराँस नगरपालिका–६ सुङनामका किसान दिपक संग्रौलाले बताउनुभयो । जंगली जनावर बाँदर नियन्त्रणका लागि लालीगुराँस नगरपालिका समक्ष पटकपटक सहयोग माग्दा पनि कुनै सुनुवाई नभएको किसानको गुनासो छ ।


प्रतिक्रिया