सर्लाही डायरी

कार्तिक १८, २०७७ | सर्लाही

सर्लाहीको दक्षिणी क्षेत्रका सयौं किसानको करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी राखेका धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग यसवर्ष सञ्चालनको तयारीमा जुटेको छ । किसानको भुक्तानी नदिएकै कारण सो उद्योग गत वर्षबाट सञ्चालनमा आउन सकेको छैन । यस वर्ष बक्यौता भुक्तानी चुक्ता गरेर चिनी मिल सञ्चालनको तयारी भईरहेको उद्योग प्रशासनले जनाएको छ । उद्योगका उखु प्रबन्धक अजित सिंहले किसानको यसअघिको बाँकी भुक्तानी सकेर चिनी उद्योग सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो । अन्नपूर्ण स्थापनाकाल देखिनै भुक्तानीमा झमेला गर्दै आएको छ । यस उद्योगले किसानको अझै पनि २४ करोड रुपैयाँ दिन बाँकी छ । किसानले भने अन्नपूर्णले भुक्तानी नगरे उद्योग चल्नै नदिने बताएका छन् । बक्यौता तिरेर उद्योग चलाए पनि यस वर्ष अन्नपूर्णलाई उखु नदिने अडानमा किसान पुगेका छन् । उनीहरुलाई उखु खेती निल्नु न ओकल्नु भएको छ ।

सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने ब्रहम्पुरी गाउँपालिका–५ सखुअवास्थित श्री प्राथमिक विद्यालयमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपी बसेको छ । विद्यार्थी पढ्ने विद्यालयमा प्रहरीले घेराबेरा सहित बस्नथाले पछि पठनपाठन अन्योलमा परेको छ । सखुअवा गाउँबाट पूर्वतर्फ अवस्थित सपही खोला किनारमा २०४५ सालमा स्थापना भएको विद्यालय भवनमा कात्तिक ६ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापन गरिएको हो । यस विद्यालयमा एक सय ६३ विद्यार्थी अध्ययनरत्त छन् । अभिभावकहरुले आफूहरुलाई जानकारी नै नगराई गाउँपालिकाले एकलौटी निर्णय गर्दै विद्यालयमा सशस्त्र प्रहरी राखेकोमा असन्तुष्टि जनाएका छन् । विद्यालयमा सशस्त्र प्रहरी राख्ने बारे आफूहरुसँग कुनै पनि पक्षले सल्लाह नगरेको विद्यालय प्रशासनले जनाएको छ । सशस्त्र प्रहरी १० नं गणले गाउँपालिकाको निर्णय अनुसार विद्यालयमा प्रहरी बसेको जानाएको छ । गाउँपालिकाले भने विद्यार्थीहरुको पठनपाठन गाउँको धर्मशालामा गरिने जनाएको छ ।

सर्लाहीका स्थानीय तहका प्रमुखहरुले भरतीय सीमानाका खुल्ला गर्न माग गरेका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले चैत १२ गतेबाट लकडाउन घोषणा गरेदेखि देशभरका अन्य नाकाहरुसँगै सर्लाहीका सीमा नाकाहरु पनि बन्द छन् । खेतबारी र अन्य सहायक सडक हुँदै निर्बाध रुपमा आवतजावत भईनै रहेकाले मुख्य नाकाहरु मात्र बन्द गरेर केही पनि नहुने पालिका प्रमुखहरुको तर्क छ । मुख्य नाका बन्द गर्दा स्थानीयलाई भारतमा औषधि उपचार गराउन निकै समस्या खेप्नु परिरहेकाले स्थानीय प्रशासनसँग बारम्बार आग्रह गरिरहेको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले बताउनुभयो । जिल्लाको दक्षिणी सीमा नाकामा सशस्त्र प्रहरीले ढाट तेर्‍स्याएर बसिरहेका छन् । सबै क्षेत्र खुल्ला भईसकेकाले नाका मात्र बन्द राख्न नहुने उनीहरुको माग छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दुई देशको सीमा नाका भएकाले जिल्लाले निर्णय गर्न नसक्ने भएकाले केन्द्रकै निर्णय पर्खिनुपर्ने जनाएका छन् ।

सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा उपप्रमुख शान्ती शवनम मिकरानीले गरेको तालाबन्दी नगर प्रमुख निर्सल साहले फोडेका छन् । सोमबार दिउँसो उपप्रमुख मिकरानी सहित चार जना वडाध्यक्षले नगरपालिकाको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेका थिए । नगर प्रमुख साहले नगरपालिकामा मनोमानी ढंगले कर्मचारी भर्ना तथा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै उपप्रमुख सहित चार जना वडाध्यक्षले तालाबन्दी गरेका हुन् । उपप्रमुख मिकरानीले आफ्ना छोरा समिर मिकरानीलाई नगरपालिकाको कर्मचारी नियुक्त गर्नुपर्ने केही वडाध्यक्षले विभिन्न अनुचित काम गराउन खोज्दा नमानेपछि आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेपछि आफूले ताला फोडेको प्रमुख साहले बताउनुभयो । एउटै पार्टीबाट निर्वाचित भएपनि मलंगवा नगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद चर्कदो छ । 


प्रतिक्रिया