झापा डायरी

कार्तिक २४, २०७७ | झापा

जिल्लामा सञ्चालित एकका लागि एक अभियानले बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने भएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएर अस्पतालमा बेड अभाव हुन थालेपछि घरमै उपचारमा सहयोग पुर्‍याउन अभियानले अक्सिजन बैंक स्थापना गर्ने निर्णय गरेको हो । सोमबार बसेको अभियानको भर्चुअल बैठकले केही दिनमै अक्सिजनका सिलिन्डरको भण्डारण गर्ने, कोभिड सूचना तथा सहायता केन्द्र स्थापना गर्ने तथा अशक्त तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै घरमै पुगेर स्वाब संकलन गर्ने निर्णय भएको अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिनुभयो ।

जिल्लाको दक्षिण–पूर्वी सीमान्त गाउँपालिका कचनकवलका विभिन्न खुला नाकाबाट चौपाया तस्करी हुने गरेको भन्दै प्रधानमन्त्री कार्यालयले गाउँपालिका कार्यालयलाई पत्र काटेको छ । पत्र प्राप्त भएपछि गाउँपालिकाले पनि चौपाया तस्करी नियन्त्रणका लागि सात वटै वडालाई पत्राचार गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतका अनुसार चौपाया तस्करीको सूचना हुना साथ प्रहरीलाई जानकारी गराउन निर्देशन दिइएको छ । विभिन्न सीमा क्षेत्रमा प्रहरीले गाई–गोरु लगायत चौपायाको चोरी निकासी रोकथाम गर्न नसकेको स्थानीयको भनाई छ । प्रधानमन्त्री कार्यालयमा उजुरी पनि स्थानीयले नै दिएका हुन् । सो क्षेत्रमा सशस्त्र बलको बोर्डर अब्जर्भेसन पोष्ट र जनपद प्रहरी समेतको तैनाथीका बाबजुद चौपाया मात्रै नभएर मलखाद्, अटोमोबाइल, स्पेयर पार्ट्स, सूर्ति, खाद्यान्न, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामान लगायतको चोरी निकासी र पैठारी हुने गरेको स्थानीयको दाबी छ ।

पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजन आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो । नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेको धाम विकास समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो । मन्दिरमा मासिक तीन लाख रुपैयाँ खर्च हुन्छ । प्रत्येक वर्ष अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशीको अवसर पारेर धार्मिक अनुष्ठानको आयोजना गरी मन्दिर सञ्चालनका लागि आर्थिक सङ्कलन गरिंदै आएको थियो । तर, यस वर्ष कोरोनाका कारण सम्भव नदेखिएपछि सर्वदलीय बैठक बोलाएर आर्थिक सङ्कलनका लागि सहयोगको याचना गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो ।

हिन्दू धर्मावलम्बी नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकएसँगै जिल्लामा सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुर लगायत क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनु एक हप्ता अघिदेखि नै माग बढेको हो । गत वर्षदेखि व्यावसायिक रुपमा सयपत्री फूलको खेती सुरु गरेकी साहित्यकार खगिन्द्रा खुशीको बारीमा यतिबला ढकमक्क कलकत्ते जातको सयपत्री फूल फुलेको छ । भद्रपुर नगरपालिका–७ इलुबारीमा १० कठ्ठा जग्गा भाडामा लिएर उनले फूलखेती गरेकी हुन् । बिर्तामोड नगरपालिका–४ मा पाँच जना महिला मिलेर १५ कठ्ठा जमीनमा सामूहिक फूलखेती गरेका छन् । तिहारका लागि फूल राखिदिन दैनिक फोन मार्फत नाम टिपाउने कार्य भईरहेको गोमा भट्टाराईले बताईन् । 


प्रतिक्रिया