दाङ डायरी

कार्तिक २५, २०७७ | दाङ

कुसुण्डा भाषाकी ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधनसँगै यो भाषा शिक्षणमा समस्या भएको छ । भाषाको पूर्ण ज्ञान भएकी कुसुण्डाको ११ माघमा ८२ वर्षको उमेरमा निधन भएको थियो । त्यसपछि उनको सहयोगमा पठनपाठन भईरहेको कुसुण्डा भाषा कक्षा प्रभावित भएको छ । लमही नगरपालिका–६ कुलमोहरस्थित ज्ञानीमैयाको घरमै राखेर बालबालिकालाई पढाउने गरिएकोमा उनको निधनपछि कक्षा सञ्चालन हुन सकेको छैन । भाषाको ज्ञान भएकी ज्ञानीमैयाकै काकाकी छोरी ४२ वर्षीया कमला कुसुण्डा मात्रै बाँकी छिन् । उनलाई पनि भाषाको पूर्ण ज्ञान नभएकाले पठनपाठनमा समस्या भईरहेको कुसुण्डा भाषा शिक्षक उदय आलेले बताउनुभयो । विद्यार्थीहरु विभिन्न जिल्लाका भएकाले पनि अहिले कोरोनाका कारण कक्षा चलाउन कठिन भएको आलेले बताउनुभयो । राष्ट्रिय जनगणना २०६८ अनुसार देशमा ९८ पुरुष र १ सय १५ महिला गरी २ सय १३ जना कुसुण्डा छन् ।

लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती उपत्यका तोकिएसँगै यस क्षेत्रमा संरचनाहरु कसरी स्थापित गर्ने भन्ने समस्या भईरहेको छ । प्रदेशसभा बैठक सञ्चालन र केही प्रदेश स्तरका कार्यालय स्थापनाका लागि राप्ती प्राविधिक शिक्षालयलाई उपयुक्त मानिए पनि पठनपाठनको वैकल्पिक व्यवस्था गर्न कठिन भएको छ । राप्ती प्राविधिक शिक्षालयलाई प्रदेशसभा बैठक सञ्चालन र भौतिक पूर्वाधार कार्यालय स्थापनाका लागि छनौट गरिए पनि प्रक्रिया मिलाउन समस्या भएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो । प्राविधिक शिक्षालयको वैकल्पिक पठनपाठनका लागि विभिन्न विद्यालय छनौट गरिए पनि तत्काल पठनपाठन सार्न समस्या भएको हो ।

कोरोना संक्रमणका कारण भिडभाड गर्न, आफन्तकोमा जान र अरुलाई बोलाउन अप्ठेरो हुन थालेपछि थारु समुदायको दशैं तिहार परिवारमै सीमित भईरहेको छ । थारु समुदायले दशैं तिहार नाचगान, पितृ पूजा, कुल देवताको पूजा र टीका गरी भिन्न तरिकाले मनाउने गर्छन् । दशैं तिहारमा मात्रै गाइने र नाचिने धेरै नाचहरु छन् । अहिले ती सबै प्रभावित भएका छन् । थारु समुदायले दशैंका लागि घरमा विशेष किसिमले देउता बसाएका हुन्छन् । उक्त देउता नभए दशैं मनाउन नसकिने चलन छ । देउता बसाउन विशेष नाचगान र खानपान गर्ने चलन छ । दशै तिहारमा १५/२० दिनदेखि नै सख्या नाच्ने गरेकोमा यसवर्ष केही पनि नभएको थारु महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रकाश चौधरीले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले कृषि मजदुरलाई थप तलब दिने तयारी गरेको छ । कृषि मजदुरको जिविकोपार्जनमा सहायता गर्न र यसको व्यवसायीकरणमा प्रोत्साहन गर्न यस्तो योजना अघि सारेको लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभयो । यस्तो सुविधा लिन अहिलेसम्म ४ सय जना भन्दा बढी निवेदन दिएको र त्यसमा अध्ययन भईरहेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र घोराहीमा आयोजित छलफलमा उहाँले प्रति मजदुर मासिक थप ३ हजार रुपैयाँ उपलब्ध गराउन थालेको बताउनुभयो । दुई जना भन्दा बढी मजदुर राखेर कृषि फर्म सञ्चालन गरेको अवस्थामा यस्तो सुविधा लिन सकिने पौडेलले बताउनुभयो ।


प्रतिक्रिया