रुपन्देही डायरी

मंसिर ९, २०७८ | रुपन्देही

१. रुपन्देहीमा सिंचाइका लागि जडान भएका डिप ट्युबेल वर्षौसम्म मर्मत सम्भार हुन सकेका छैनन् । डिप ट्युबेल मर्मत नहुँदा करीब १० वर्षदेखि रुपन्देहीको भूमिगत सिंचाइ प्रभावित भएको छ । जलउपभोक्ता समितिलाई २०५८ सालमै हस्तान्तरण गरिएका १६९ वटा ट्युबेल मध्ये २४ वटा पूर्ण रुपमा बन्द भएका छन् भने ४० वटाको क्षमता खस्किएको छ । डिप ट्युबेल बिग्रेर मर्मत सम्भार हुन छाडेपछि रुपन्देहीका किसानले महँगोमा बोरिङ गाड्न थालेका छन् । कतिपय किसानले आफ्नै लगानीमा स्यालो ट्युबेल जडान गरेका छन् भने कतिपय स्थानीय पालिकाले पनि अनुदानमा उपलब्ध गराएका छन् । रुपन्देहीमा ४० हजार हेक्टर जमिन सिञ्चित गर्ने उद्देश्यले २०३३ सालमा डिप ट्यूबेल (भूमिगत सिंचाइ) निर्माण सुरु भएको थियो । तर, किसानको बेवास्ता र सरकारले मर्मत सम्भार नगर्दा झण्डै साढे दुई अर्ब रुपैयाँ लागतको भूमिगत जल सिंचाइ अलपत्र छ ।

२. रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ । तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नेगरी विभिन्न प्रवर्धनात्मक अभियान सञ्चालन भएका छन् । नगरलाई बालमैत्री बनाउने गरी अभियान सञ्चालन गरिएकोमा कोभिड–१९ को कारण प्रभावित भएपछि घोषणाको नयाँ मिति तय गरी अभियानात्मक रुपमा कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी निर्वाह गर्दै यही मंसिर २९ भित्र तिलोत्तमालाई बालमैत्री नगरपालिका घोषणा गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । बालमैत्री नगरपालिका निर्माणका आवश्यक सूचक पूरा गर्न टोल–समुदाय, विद्यालय, स्वास्थ्य संस्था, वडा, नगरपालिका तहमा विभिन्न कार्यक्रम भइरहेका छन् ।

३. एबी कर्णाली जडीबुटी एण्ड अर्गानिकको उत्पादन हिमाली जडीबुटीमा आधारित ‘ग्रिन टी’ अब बुटवलमा पनि पाईने भएको छ । आफ्नो उत्पादनलाई विदेश निर्यात गरिरहेको सो कम्पनीले नेपाली बजारमा बिस्तार गर्ने योजना सहित बुटवलमा शाखा सञ्चालन गरेको हो । काठमाडौंमा भने बिक्री वितरण भईरहेको थियो । नेपालका मुख्य शहरहरुमा शाखा बिस्तार गर्ने योजना अनुसार बुटवलमा शाखा बिस्तार गरिएको र निकट भविष्यमा पोखरा, विराटनगर लगायत शहरहरुमा बजार बिस्तार गर्ने लक्ष्य रहेको कम्पनीका बजार व्यवस्थापक सुरेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । सो उत्पादनलाई बुटवलमा ‘द यार्सा’ ले मिलन चोकमा ‘टी बार’ सहित होलसेल तथा खुद्रा बिक्री सुरु गरेको हो ।

४. बुटवलस्थित नवीन औधोगिक कदर बहादुर रिता माविमा कक्षा १२ मा सिभिल इन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोख्रेलले ब्याक गियर सहितको ईलेक्ट्रो–एमएएसबी विद्युतीय मोटरसाईकल निर्माण गरेका छन् । सोमबार विद्यालय परिसरमा मोटरसाईकलको परीक्षण गरिनुको साथै पोख्रेललाई विद्यालय ब्यवस्थापन समितिले नगद ५१ हजार रुपैयाँबाट सम्मान गरेको हो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पोख्रेललाई चेक हस्तान्तरण गर्दै सामुदायिक विद्यालय गुणस्तर र क्षमतामा कम नभएको यो एउटा उदाहरण भएको बताउनुभयो । शिक्षा र स्वस्थ्यलाई पहिलो प्राथमिकता दिएर नगरभित्रका विद्यालयमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो । अर्घाखाँची सन्धिखर्च नगरपालिका–१ मा स्थायी घर भएका सागरले करीब १ लाख १० हजार रुपैयाँ लागतमा मोटरसाइकल तयार गरेको बताए ।


प्रतिक्रिया