रुपन्देही डायरी

माघ २६, २०७८ | रुपन्देही

१. रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले जिल्ला कारागार कार्यालय सिद्धार्थनगरमा सोमबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कारागारमा रहेका कैदीबन्दीहरुलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताउनुभयो । कारागारमा रहेका ४ सय ४७ जना कैदीबन्दी मध्ये २ सय २ जनाको स्वास्थ्य परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । शिविरमा छाला, रुघाखोकी, मधुमेह, मानसिक, आाखा, दन्त, पेट दुख्ने लगायत समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

२. रुपन्देही युवा समूहले विभिन्न विधामा ११ जनालाई सम्मान गर्ने भएको छ । समूहले हिरोज अफ पब्लिक अवार्ड–२०७८ बाट ११ जनालाई सम्मान गर्ने भएको हो । आगामी फागुन २८ गते भैरहवामा कार्यक्रम गरी सम्मान गरिने समूहका अध्यक्ष विशाल गुप्ताले बताउनुभयो । राजनीति, उद्योग/व्यवसाय, सामाजिक, सञ्चार, शिक्षा, स्वास्थ्य, चलचित्र र खेलकुद क्षेत्रमार्फत योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्न थालिएको गुप्ताले जानकारी दिनुभयो । त्यस्तै, एक जनालाई यस वर्षको उत्कृष्ट युवा अवार्डबाट सम्मान गरिने गुप्ताको भनाइ छ । समूहले आयोजना गरेको यो कार्यक्रम तेस्रो संस्करण हो । समूहले पहिलो पटक २०७६ मा हिरोज अफ पब्लिक अवार्डबाट विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । समूहमा २ सय बढी सदस्य आबद्ध रहेको संस्थापक आनन्द प्रसाद गुप्ताले बताउनुभयो ।

३. बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले ४० जना स्टाफ नर्सका लागि आवेदन माग गरेको छ । माघ २३ गते प्रथम पटक सूचना प्रकाशित गर्दै अस्पतालले ४० जना स्टाफ नर्स माग गरेको हो । पाँचौ तहको करार सेवाका लागि अस्पतालमा सो संख्यामा नर्स माग गरेको हो । अस्पतालले इच्छुकलाई १ फागुनसम्म आवेदन दिने समय तोकेको छ । २०७९ को असार मसान्तसम्मका लागि रहने सो करार अवधिका लागि छनोटको विधि लिखित र अन्तर्वार्ता हुने मेडिकल सुपरिटेण्डेण्ट डा.इन्द्र ढकालले बताउनुभयो ।

४. रुपन्देहीका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ । अभिभावकको आग्रह र १२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकाले कोरोना विरुद्धको खोप लगाइसकेकाले भौतिक उपस्थिति मै पठनपाठन सुरु गरिएको विद्यालयका प्राचार्यहरुको भनाई छ । तिलोत्तमा नगरपालिका, सैनामैना, देवदह नगरपालिका र बुटवल उपमहानगरपालिका भित्रका विद्यालयमा पठनपाठन सुरु गरिएको हो । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दीपेन्द्र ढकालले स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड पालना गरी पठनपाठन भईरहेको भन्दै आफूहरुले रोक्न नमिल्ने बताउनुभयो ।


प्रतिक्रिया